कृषि

धनकुटामा बाँदर नियन्त्रणका लागि फलफूल खेती

इकागज |
भदौ २६, २०८० मंगलबार १५:५८ बजे

फाइल फोटो

धनकुटा - किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको रु १० लाखको सहयोमा आर्थिक वर्ष २०७९÷८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकाश कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ ।

जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ ।


प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए । वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतंकबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिनेछैन” उनले भने । 

यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्न  तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष  मा प्रदेश सरकारको रु पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले उल्लेख गरे । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् ।
रासस


Author

थप समाचार
x