कृषि

सरकारले बेच्‍ने बेर्नाबाट उत्पादन नभएको गुनासो, अध्ययन गर्न मन्त्रीको निर्देशन

इकागज |
पुस २०, २०७७ सोमबार १६:५१ बजे

काठमाडौं : सरकारले बिक्री गरेको बेर्नाबाट उत्पादन नभएको भन्ने गुनासो बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन गर्ने भएको छ । मन्त्री पद्‍मा अर्यालले सत्यतथ्य पत्ता लगाएर रिपोर्ट दिन निर्देशन दिएकी छिन् ।

मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजीत कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन् । दुग्ध विकास वोर्ड र संस्थान दुईवटा निकाय रहेकाले संस्थान र वोर्डहरुको अन्तरसम्बन्धहरुलाई छुट्याएर अलग-अलग संरचना राखेर झञ्जटिलो बनाउनु भन्दा एकीकृत गर्न सकिन्छ भने यस विषयमा सोच्न समेत मन्त्री अर्यालले आग्रह गरिन् ।


मन्त्री अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताइन् । किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ती निम्ती नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताइन् ।

‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिदैन । कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौ’ भन्ने’, उनले भनिन्, ‘तर किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिती राम्रो होइन ।

दुध उत्पादन गर्‍यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भिीर कुरा हो । मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन ।’  कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिइन् ।

किसानहरुले दुधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उनले दिगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेको बताइन् । ‘किसानहरु आफ्नो दुधको भुक्तानी किन पाएननन । कोभिडका कारणले पाएनन की अरु पनि कारण छन् ।

किसानलाई उत्पादन गर भन्ने तर किसानको दुधको मूल्य नदिने भन्ने कुरा राम्रो भएन’, उनले भनिन्, ‘यसको दिगो समाधान के हो ? उत्पादन रोक्नु भएन । उचित समयमा उचित मूल्य कसरी दिन सकिन्छ ? दीर्घकालिन समाधान सहित अगाडी बढ्नुपर्छ ।'


Author

थप समाचार
x