कला

'महिला केन्द्रित चलचित्र बनाउने भनेर महिलालाई ठिंग उभ्याएर मात्र भएन नी'

सामीप्यराज तिमल्सेना |
बैशाख २५, २०७८ शनिबार १५:२२ बजे

काठमाडौं : अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्मको इतिहास हेर्दा महिलाले भन्दा पुरुष निर्देशकले महिला कलाकारलाई राम्ररी प्रस्तुत गरेका बताएकी छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) अन्तर्गत भएको छलफलमा बोल्दै करिष्माले यस्तो धारणा राखेकी हुन् ।

‘हुन त मैले सक्रिय रुपमा काम गर्दा महिला निर्देशक पनि हुनुहुन्थेन । तर, दयाराम दाहाल, शिव रेग्मी जस्ता निर्देशकले हामीलाई एकदमै बुझेर प्रस्तुत गर्नु भएको थियो,’ उनले भनिन् ,‘ मेरो समयमा हिन्दी चलचित्रको नक्कल गरेर ज्यादा फिल्म बन्थे । तर, भारतका धनी र हाम्रा धनीबीचमा आकाश जमीनको अन्तर हुन्छ । त्यो जस्ताको तस्तै नक्कल गर्दा न त्यो हाम्रो फिल्म हुन्थ्यो न उनीहरुको । त्यही भएर मेरो समयलाई अलि फरक तरिकाले हेर्नुपर्छ ।’


निफ अन्तर्गत शनिबार भएको  बहसमा ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ विषयमा करिष्मा मानन्धर, दीपाश्री निरौला  र रक्षा सिंह राणाबीच सम्वाद भएको थियो । छलफलको सहजीकरण सम्झना उप्रेती रौनियारले गरेकी थिइने । डेढ घन्टा लामो छलफलमा उनीहरुले नेपाली सिनेमामा महिलाको भूमिका , यस क्षेत्रमा महिलाले भोग्ने कठिनाइ र पारिश्रमिकमा हुने गरेको विभेद आदि विषयमा धारणा राखेका थिए । 

दीपाश्री निरौलाले पहिलाको तुलनामा नेपाली फिल्ममा महिलाको सहभागिता उल्लेख्य रुपमा वृद्धि भएको तर्क गरेकी थिइन् । ‘हिजो फिल्म खेल्न जाँदा मुख छोपेर जानु पर्ने बाध्यता थियो । फिल्म खेल्नेले सामाजिक बहिष्कार नै खप्ने डर हुन्थ्यो तर आज हामी डिमान्ड गर्ने अवस्थामा पुगेका छौं । छानी छानी फिल्म गर्न पाइन्छ, पैसा पनि भनेजति माग्न पाइएको छ । यसलाई म ठूलो फड्को मान्छु ’ उनले भनिन् । 

रक्षा सिंह राणाले निर्देशन र अभिनयमा महिलाको उपस्थिति सन्तोषजनक रहे पनि प्राविधिक क्षेत्रमा भने अहिलेसम्म पनि औंलामा अटाउने महिला मात्र देखिनु दुःखद रहेको बताइन् । उनले भनिन्, ‘हो पहिलेको तुलनामा यो क्षेत्रको ग्ल्यामर बढेको छ तर त्यो अभिनयमा ज्यादा केन्द्रित छ ।

प्राविधिक विषयमा महिलाले भविष्य नै देखिरहनु भएको छैन । सबैले कि करिष्मा बन्ने कि दीपाश्री निरौला बन्ने मात्र देखिरहनु भएको छ । प्राविधिक क्षेत्रमा पनि महिलाको संख्या बढ्न जरुरी छ ।’ 

कार्यक्रममा महिलाले पाउने असमान पारिश्रमिक आफूलाई दुखाउने विषय भएको करिष्माको कथन थियो । उनले आफूले यो विषयमा लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ नभएको बताइन् । 

‘अरु धेरै कुरामा हामी पुरुष सरह आइसक्यौं । खासगरी कामको मामलामा । तर, अहिले पनि हामीले पाउने पारिश्रमिक पुरुषको भन्दा कम छ । यो अन्याय हो ,’ उनले थपिन्, ‘ हुन त मैले केही हिरोइनले प्रशस्त पैसा पाएको समाचार पढेकी छु । तर, एउटा दुइटाले पाएर भएन । सबैलाई समान नजरले हेर्नुपर्यो ।’

सम्पादक हुँदै निर्देशक बनेकी रक्षा सिंह राणाले कार्यक्षेत्रमा पनि महिलामाथि विभेद हुने गरेको अनुभव सुनाइन् । ‘मलाई सुरु सुरुमा महिलालाई कहाँ फाइट सम्पादन गर्न दिने ? हुँदैन भनेर मसँग काम गर्न नमानेको अनुभव छ । तर पछि मैले कामले जितेर देखाएँ । अहिले पनि यो माइन्ट सेट चेन्ज भाको जस्तो त लाग्दैन ।’ 

रक्षाको कुरामा सही थाप्दै दीपाश्री निरौलाले आफूलाई पनि तेस्रो फिल्म ब्लकबस्टर नबनाएसम्म निर्देशन गरेको नपत्याएको अनुभव संगालेको बताएकी थिइन् । 
‘मलाई पनि पछि सम्म यसले कहाँ गर्या हो र भन्थे । तर मैले निरन्तरताले जितेँ,’ उनको भनाइ थियो । 

‘नेपाली फिल्ममा महिलाको भूमिका कत्तिको प्रभावकारी छ त ’ भन्ने प्रश्नमा तीनै प्यानलिस्टले निराशाजनक तस्बिर देखाए । करिष्माले आफ्नो समयमा आफ्नो भूमिका जत्ति प्रभावकारी भए पनि हिरोको छायाँबाट मुक्त हुन नसकेको अवस्था बयान गरिन् । 

‘सन् १९९० देखि २०००सम्मको समयलाई नेपाली सिनेमाको गोल्डेन पिरियड भनिन्छ । म यही समयमा सक्रिय थिएँ । तर, म मेरो भूमिका जत्ति सशक्त भए पनि साँच्चिकै आपत परेको बेला राजेशजी (हमाल)उद्धार गर्न आइहाल्नुहुन्थ्यो । रेखा थापाले राजेशजीको ठाउँ लिएपछि मात्र यो अवस्था अलि परिवर्तन भयो ,’ उनले भनिन् ,‘ नत्र त माइतीघर, नुमाफुङ आदि चलचित्र छाडेर हाम्रो भूमिका प्रभावकारी थियो भन्ने लागेको छैन मलाई ।’

दीपाश्रीले करिष्माको कुरामा सही थाप्दै बलिउडसँग तुलना गर्दा भने हाम्रो उद्योग पनि महिला केन्द्रित सिनेमा बनाउने मामलामा पछि नरहेको धारणा राखेकी थिइन् । तर, उनले महिला केन्द्रित सिनेमा बनाउने नाममा महिलालाई ठिंक उभ्याउन मात्र नसकिने विचार राखिन् । 

‘महिला केन्द्रित फिल्म बनाउँछु भनेर महिलालाई मात्र ठिंग उभ्याउनु भएन । किनकि सोहीअनुसारको कथा पनि चाहिन्छ । किनकि फिल्ममा विषय मात्र हेरेर हुँदैन बजार पनि ख्याल गर्नुपर्छ,’ उनको भनाइ थियो । 

‘छ माया छपक्कै’ मा दीपाश्री निरौलाले निर्देशक दीपेन्द्र लामाको सल्लाहकार निर्देशकको भूमिकामा काम गरेकी थिइन् । उनको यो भूमिकालाई लिएर धेरैले प्रश्न पनि गरेका थिए । यो छलफलमा पनि सम्झना उप्रेति रौनियारले सहभागीबाट आएको प्रश्न भन्दै ‘आफैं अविश्वास खपेको मान्छेले दीपेन्द्र लामालाई किन अविश्वास गरेको ?’ भनेर  सोधेकी थिइन् । दीपाश्रीले त्यो फिल्म आफ्नो टिमले बनाएको कारणले ब्याकअप लागि त्यो भूमिका स्वीकार गरेको बताइन् । 

‘दीपेन्द्रजीले आफूलाई राम्रो निर्देशकको रुपमा प्रमाणित गरिसक्नु भएको थियो । तर, पनि त्यो हाम्रो टिमले बनाएको सिनेमा थियो । आफ्नै भलोका लागि पछाडि बसेकी हुँ,’उनले स्पष्ट पारिन् । शनिबार नै निफमा दार्जिलिङबाट ‘परालको आगो’का निर्देशक प्रताप सुब्बाले आफ्ना अनुभव सुनाएका थिए । 


 


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x