कला

म्युजिक कम्पनी र स्रष्टाको लडाइँ प्रहरीमा

विन्ध्यवासिनीविरुध्द ५७ जना स्रष्टाको उजुरी

सामीप्यराज तिमल्सेना |
पुस २४, २०७७ शुक्रबार १५:२० बजे

काठमाडौं : म्युजिक कम्पनी विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीलाई कारबाही गर्नु पर्ने मागसहित ५७ जना गायक तथा संगीतकारले प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनीहरूले दस दिन अघि आफ्नो प्रतिलिपी हक माग्दा रेग्मीले उल्टै गाली गलौज र मान मर्दन गरेको भन्दै कानुन अनुसार कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दर्ता गरेका छन् । यही महिनाको १३ गते निवेदन दर्ता गराएको भए पनि स्रष्टाहरूले बिहीबार मात्र निवेदन सार्वजनिक गरेका हुन् । 

केही समयअघि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले गायक प्रमोद खरेलले आफ्नो स्वामित्व रहेका ५० गीत आफ्नो अनुमतिविना प्रयोग गरेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यालयमा मुद्दा दायर गरेका थिए ।  रेग्मीले प्रमोदसँग १ करोड क्षतिपूति माग गर्दै मुद्दा दायर गरेका थिए । यहीँबाट चर्किएको विवाद प्रहरीसम्म पुगेको हो । संगीतकार लक्ष्मण शेषले सञ्चालक रेग्मीविरुध्द तीन अपराधमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए । 


उनले इकागजसँग भने, ‘एउटा त धाकधम्की दिएका कारणले हामीले फौजदारी मुद्दा दायर गरेका छौं । दोस्रो मानहानीको मुद्दा छ र तेस्रो करार उल्लंघनको ।’शेषले सर्जकले आफ्नै सिर्जना प्रयोग गर्न अरुको अनुमति लिनु पर्ने अवस्था दुःखद भएको बताउँदै आफूहरू वारपारको लडाइँ लड्न तयार रहेको बताए । ‘यो सुरुवात हो । अब हामी बाँकी कम्पनीसँग पनि हिसाबकिताब गर्ने तयारीमा छौं,’ शेषले भने । 

यही विषयमा सुवास रेग्मीसँग जिज्ञासा राख्दा उनले प्रतिलिपी अधिकार रजिस्टारको कार्यालयमा रहेको मुद्दालाई प्रभावित गर्ने अभिप्रायले स्रष्टाहरू होहल्लामा उत्रिएको बताए । आफू देशको कानुन मान्ने भएकाले कानुन अनुसार सजाय भोग्न तयार रहेको उनको भनाइ थियो । ‘देशमा संविधान छ , कानुन छ । म कानुन मान्छु । कानुन अनुसार दोषी पाइए सजाय भोग्न तयार छु,’ रेग्मीले भने, ‘ तर, उहाँहरूलाई यत्ति भन्न चाहान्छु, अर्काको सम्पत्ति रोएर पाइँदैन ।

कानुनलाई छिनोफानो गर्न दिनुस् ।’प्रमोद खरेलले निकालेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनीले बजार प्रवद्र्धन गरेको थियो । योबाहेक प्रमोदका अन्य गीत पनि यही कम्पनीको लेबल अन्तर्गत बजारमा गएका थिए । अहिले प्रमोदले ती गीत आफ्नो युट्युब च्यानलमा राख्न लाग्दा विन्ध्यवासिनीले अनुमति नदिएपछि प्रमोद कानुनी उपचारमा गएका हुन् ।

विन्ध्यवासिनीबाट विभिन्न समयमा गरी २ लाख १० हजार लिएको प्रमोद बताउँछन् । ‘एल्बम बजारीकरण गर्ने सम्झौता भएको बखत १ लाख १० हजार र म्युजिक भिडियो बनाउने समयमा १ लाख नगद लिएको हुँ । बाँकी दुई लाख चाहिँ प्रमोसनको बेलामा खर्च गर्ने कुरा भएको हो,’ प्रमोदले भने, ‘ सालाखाला ४ लाख खर्च गरेको हो । अहिले सम्झौता सकिएपछि फिर्ता माग्दा उल्टै लफडा भयो ।

’यसरी बनाएका गीत ५ वर्षका लागि मात्र प्रवद्र्धन गर्न दिएको तर अहिले सो समयावधि कटेर आफ्नो सिर्जना फिर्ता माग्दा विन्ध्यवासिनीले निहुँ खोजेको उनको आरोप छ ।  महानगरीय प्रहरी परीसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले यस विषयमा उजुरी परेर अनुसन्धान भइरहेको बताए । ‘विन्ध्यवासिनी विरुध्द जाहेरी आएको छ,’ उनले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ । प्रमाणको आधारमा दोषीमाथि कारबाही हुन्छ ।’


कसरी हुन्छ मुद्दाको छिनोफानो ?

प्रमोद खरेलले प्रहरी समक्ष प्रतिलिपी अधिकारको सुरक्षाका लागि निवेदन दिएको बताएका छन् । बाहिर सार्वजनिक भएको निवेदन बाँकी स्रष्टाहरूको ऐक्यवद्धता मात्र भएको बताउँदै उनले प्रहरी कहाँ बेग्लै निवेदन दर्ता गराएको जानकारी गराए । प्रहरी कहाँ यसरी आएको मुद्दामा प्रहरीले सबैभन्दा पहिला दुवै पक्षलाई बोलाएर सहमति खोज्ने प्रयास गर्छ । यदि सहमत नभएमा प्रहरीले निवेदकको निवेदनका आधारमा प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गर्छ ।

अदालतमा पुगको मुद्दा प्रमाणका आधारमा छिनोफानो हुन्छ । प्रतिलिपी सम्बन्धी ठूलो मुद्दा अहिलेसम्म अदालतमा पुगेर छिनोफानो भएको इतिहास छैन । बेलाबखत चर्चामा आएका विवाद बीचैका सम्झौता भएर तुहिएका छन् । यदि यो मुद्दा अदालतमा पुगेर छिनोफानो भएमा स्रष्टाको प्रतिलिपी अधिकारको मामलामा नयाँ नजिर स्थापना हुनेछ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x