कला

फिल्म बनाउँदै हुनुहुन्छ ? रिलिजको पालो कहिले आउला सोच्‍नु भएको छ ?

सामीप्यराज तिमल्सेना |
माघ २५, २०७८ मंगलबार १६:६ बजे

काठमाडौँ -  महामारीले दुई वर्ष फिल्म रिलिज नहुँदा हार्ड डिस्कमा थन्किएका फिल्मको सूची लामो हुँदै गएको छ । तर चलचित्र निर्माणका लागि इजाजत लिने निर्माताको कुनै कमी छैन । चलचित्र विकास बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोलाका अनुसार गत साउनयता फिल्म निर्माणका लागि इजाजत लिने फिल्मको संख्या ५५ छ । यसै गरी रैखालाले यही अवधिमा १७ फिल्मले सेन्सर सर्टिफिकेट लिएको जानकारी दिएका छन् । 

सरकारले महामारीका कारण लगाएका प्रतिबन्ध फागुन १ देखि खुकुलो पार्ने निर्णय गरेसँगै थप फिल्म निर्माणका लागि हौसिने पक्का छ । जाडो मौसम सकिएकाले यही बीचमा सुटिङमा निस्कने फिल्मको संख्या उल्लेख्य रूपमा वृद्धि हुनेछ । तर बनेर तयार भएका फिल्मले रिलिजका लागि कम्तीमा एक वर्ष कुर्नुपर्ने देखिएको छ । 


फिल्म रिलिज क्यालेन्डरलाई व्यवस्थित बनाउने भन्दै नेपाल चलचित्र संघले हप्तामा एउटा मात्र नेपाली फिल्म रिलिज गर्ने सम्झौता गरेका छन् । यदि यो व्यवस्था भोलिका दिनमा पनि निरन्तर रहने हो भने वर्षभरिमा जम्मा ५२ फिल्म रिलिज हुन्छन् । यसबाहेक नेपाली निर्माताले विदेशका ठूला फिल्मका लागि पनि हप्ता छाड्दै आएका छन् । खासगरी बलिउडका पनि ठूला फिल्म महामारीकै कारण रोकिएकाले आउँदा दिनमा ती फिल्म नेपालमा लाग्दा नेपाली निर्माताले आफ्नो फिल्म सारेको घोषणा गर्नु कुनै अनौठो मानिनेछैन । 

इकागजले अनौपचारिक रूपमा जम्मा गरेको तथ्यांकअनुसार ७० हाराहारी फिल्म जतिबेला पनि प्रदर्शनका लागि तयार छन् । हप्तामा एउटा मात्र नेपाली फिल्म प्रदर्शन गर्ने हो भने कम्तीमा डेढ वर्षमा अहिले तयार भएका फिल्म प्रदर्शन भएर सकिन्छन् । वर्षाको समयमा पनि नेपाली निर्माताले आफ्ना फिल्म रिलिज गर्न हिच्किचाउने गरेका छन् । यस हिसाबले कम्तीमा असार र साउनमा फाट्टफुट्ट मात्र फिल्म रिलिज हुनेछन् । यसरी एक दुई महिना र बीचमा बलिउड फिल्मका लागि ठाउँ जोड्दै जाने हो भने अहिले तयार भएका फिल्म रिलिज सक्न नेपाली निर्मातालाई दुई वर्ष लाग्छ ।  

निर्माता संघले केही समयअघि चलचित्र विकास बोर्डलाई राहतका लागि बुझाएको तथ्यांकमा ३५ वटा फिल्म पोस्ट प्रडक्सनमा रहेको जनाएको छ । ७० मा यो संख्या थप्दा सयभन्दा बढी हुन आउँछ । सयवटा फिल्म हरेक हप्ता एउटाको दरले प्रदर्शन गर्ने हो भने २ वर्ष ढुक्कले बित्छ । महामारी पहिले एकै मितिमा चार वटासम्म नेपाली फिल्म प्रदर्शनमा आउने गरेका थिए । तर एकै मितिमा लाग्ने कुनै पनि फिल्मले उत्साहजनक व्यापार गर्न सकेका थिएनन् ।

भोलिका दिनमा ‘एक हप्ता एक नेपाली फिल्म’को नियम लागू नहुने निश्चित छ । यसो हुँदा पनि नेपाली फिल्मले प्रदर्शनको रहर मात्र पूरा गर्नेछन् । फिल्म रिलिजको यो भद्रगोल भोलि कसरी मिल्छ ? यसको कुनै सिधा उत्तर पाउन गाह्रो छ । तर निर्माता बचाउने हो भने पेसागत संघसंस्था यो मुद्दालाई लिएर गहन छलफल गर्न आवश्यक छ ।  

र यो पनि 

'हार्ड डिस्क'मा थन्किएका छन् ५० फिल्म, दुई अर्ब जोखिममा


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x