कला

क्लीन फिड : दशकको प्रयास, गत वर्ष कानुन, आजदेखि लागू

इकागज |
कात्तिक ८, २०७७ शनिबार १०:४७ बजे

काठमाडौं :  विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने कानुनी व्यवस्था सरकारले आजबाट कार्यान्वयनमा ल्याएको छ । विदेशी च्यानल डाउनलिंक अनुमति लिएर वितरण गर्दै आएका संस्थाहरुलाई एक वर्ष पूर्व तयारीका लागि समय दिइएको थियो ।

झण्डै एक दशकदेखि विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लीन फिड) प्रसारण गराउने पहल हुँदै आएको भएपनि सरकारले गत वर्ष कानुन ल्याएको हो ।   
विज्ञापन नियमन गर्ने ऐन कार्यानवयनमा आएपछि एक वर्ष तयारीका लागि समय दिएर क्लीन फिड लागू गर्न आग्रह गरिएको थियो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विदेशी च्यानल प्रसारण गर्नेहरुको गत असारमा अनुमतिपत्र नवीकरण गर्दा नै क्लीन फिड लागू गर्न मञ्जुर गराएको थियो । 


शुक्रबार मध्यरातदेखि नै यो व्यवस्था कार्यान्वयनमा आइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणी दुवाडीले बताए । ‘क्लीन फिड कार्यान्वयन भए या नभएको सम्बन्धमा विदेशी च्यानलहरुको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।’ 

सरकारले विज्ञापन बोर्डमार्फत् विज्ञापनको नियमन गर्ने प्रावधान राखेको छ । दुवाडीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै सहसचिव डिल्लीराज शर्मा विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भएको र बोर्डले काम शुरु गरिसकेको बताए । 

क्लीन फिडका लागि पर्याप्त समय दिएको भएपनि अइण्डियन ब्रोडकास्टर्स फोरम, डिस्कोभरी नेटवर्क, बीबीसी न्यूज र नेपाल केवल टेलिभिजन महासंघ लगायत संघसंस्थाले भने कोभिड–१९ का कारण तयारीका कामहरु प्रभावित भएको भन्दै समय थप्न माग गर्दै आएका थिए । 

‘सरकारले उनीहरुलाई पर्याप्त समय दिएको हो । यो अवधिमा अधिकांशले विज्ञापनरहित प्रसारणका लागि उपकरणहरु ल्याएर सरकारको निर्देशन अनुसरण गरिसकेका छन्,’ दुवाडीले भने, ‘कानुन पालना नगर्ने च्यानलको प्रसारण बन्द हुन्छ ।’

संसदको विकास तथा प्रविधि समितिले पनि सरकारलाई सोही अनुरुप क्लीन फिडको पूर्ण कार्यान्वयनका लागि विज्ञापन प्रसारण नरोकेका विदेशी च्यानल बन्द गराउन निर्देशन दिएको थियो ।  

विदेशी च्यानलले विज्ञापन बजाउन नपाउनेमात्र होइन, नेपाली सञ्चारमाध्यमले समेत विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न पाउँदैनन् । क्लीन फिड सम्बन्धि कानुन कार्यान्वयनले नेपाली विज्ञापन बजार पाँच वर्षमा दोब्बर विस्तार हुने नेपाल विज्ञापन संघको अनुमान छ । अहिले नेपालको विज्ञापन बजार १२ अर्ब रुपैँया हाराहारीमा रहेको छ । 


Author

थप समाचार
x