आमचुनाव २०७९

पाँचौँ प्रयासमा सांसद बने राप्रपाका दीपकबहादुर सिंह

इकागज |
मंसिर ८, २०७९ बिहीबार १५:२९ बजे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह पाँचौँ प्रयासमा सांसद बनेका छन् । सिंह मनवानपुर–१ बाट २७ हजार ८१६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डीना)लाई २ हजार ३९३ मतान्तरले पराजित गरेका हुन् । डीनाले २५ हजार ४२३ मत प्राप्त गरेकी छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा भने प्रतिस्पर्धामा तेस्रो भए । एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० पाए ।


तर, प्रतिद्वन्द्वी डिनालाई पराजित गरेर सांसद् चुनिएका सिंह बिहीबारसम्म पनि मुख्य प्रतिस्र्धीका रुपमा हेरिएका थिएनन् । उनी गतगणनाको सुरुदेखि नै पछाडि थिए । मतगणना अवधिभर तेस्रो स्थानमा रहे । बिहीबार बिहानदेखि भने उनले बिस्तारै अग्रता बनाउँदै लगे । अन्ततः डिनालाई २ हजार बढी मतले पछाडि पार्दै सांसद्मा निर्वाचित भए, उनी । 

सबैलाई सरप्राइज दिँदै चुनाव जितेका सिंहको चुनावी यात्रा भने लामो छ । र, छ संघर्षमय पनि । उनी पाँचाैँ पटकको प्रयासमा सांसदमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । त्यतिबेला उनी नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए । त्यसपछि उनले २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट लडे । उक्त निर्वाचनमा पनि उनले सफल हुन सकेनन् । उनी एमालेका अनन्तप्रसाद पौडेलसँग हार व्यहोरे । 

सिंह दुईपल्ट मेयरका प्रत्यासी पनि भए । खासमा उनको चुनावी यात्रा नै मेयरका लागि उम्मेदवार बनेर सुरु भएको थियो । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा हेटौँडा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेका । तर, उनी त्यतिबेला एमालेका उम्मेदवारसँग पराजित भए । 

सिंह गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह चुनावमा पनि उत्रिएका थिए । तर, उनको मेयरका लागि दोस्रोपटकको प्रयास पनि निरर्थक भयो । उनी २० हजार ५ सय ३१ मतसहित तेस्रो भए । 

तर, पाँचौँ प्रयासमा भने उनी सफल भएका छन् । उनले जितले राप्रपा २८ वर्षपछि मकवानपुरमा पुनरागमन भएको छ । राप्रपाले मनवानपुरमा २०५१ यता जित्न सकेको थिएन । उक्त निर्वाचनमा कमल थापा विजयी भएका थिए । 
 


Author

थप समाचार
x