सिनेमा

तीन दिनदेखि खुल्लामञ्चमा लागिरहेको ‘महाजात्रा’

इकागज |
पुस ४, २०८० बुधबार ११:१४ बजे

काठमाडौँ- तीन दिनयता खुलामञ्चमा 'मेला' लागेको छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा 'नेताको भाषा र चुनावीसभा' छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’ को छायाङ्कनको लागि हो । एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायाङ्कन भइरहेको छ । यसले त्यहीँ काम गर्नेलाई पनि रमाइलो आभाष दिलाएको छ ।

‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायाङ्कन एकसाथ भईरहेको छ’, निर्देशक प्रदीप भट्टराईले भने । 


गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहीँ क्लाइमेक्स दृश्यको छायाङ्कन भइरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

एक सय बढी कोरसको प्रयोग गरिएको गीतमा फिल्मका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतलगायत पनि देखिन्छन् । प्रचारप्रसारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए । गीतमा नाच्दानाच्दै सहज महसुस गर्न लागेको अभिनेता कार्कीले बताए ।

‘पहिला गीत भनेपछि सहजता महसुस गर्दिनँ थिएँ । तर, अहिले बानी परिसकेको छ । किनकी नृत्यमा मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । यद्यपि उनले दृश्यको तुलनामा गीतमा असहजता नहुने तथ्यलाई अस्वीकार गरेनन् ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायाङ्कन सकिएसँगै इन्ड–कल्याप हुने जानकारी दिए । ‘हामी बुधबार साँझ छायाङ्कन सकाउँछौँ । हामीले तय गरेको तालिकाअनुसार नै काम सम्पन्न गरेका छौँ । अब हाम्रो तयारी प्रचारप्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।

निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ । अर्ग्यानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको दाबी गरिएको छ ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।


Author

थप समाचार
x