अदालत

सर्वोच्चमा भोलिबाट ‘पेसी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

इकागज |
भदौ १०, २०८० आइतबार १६:४५ बजे

काठमाडौँ- सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेसी तारेख अटोमेशन स्टिम’ सुरु गर्ने भएको छ ।​ नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे । प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको सुरुवात गर्नुपरेको बताए ।


उनले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए । सर्वोच्च अदालत पछि काठमाडौँ जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषदबाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे । उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अप्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।    

 


Author

थप समाचार
x