अदालत

अवहेलना मुद्दामा अदालतको आदेशपछि पूर्वसभामुख ढुंगानाको टिप्पणी

‘स्वतन्त्रताका लागि अझ धेरै लड्नुपर्ने रहेछ भन्‍ने ऊर्जा र प्रेरणा दिएको छ’

इकागज |
माघ १५, २०७७ बिहीबार १९:१६ बजे

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले ‘अदालतको अपहेलना’ मुद्दामा जवाफ दिन पाउँदा जीवनमा थप ऊर्जा र प्रेरणा मिलेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासबाट बिहीबार ‘अदालतको अपहेलनामा कारबाही किन हुनु नपर्ने हो ?’ भन्दै सात दिनभित्र आफै लिखित जवाफ पेस गर्न पूर्वसभामुख ढुंगानालाई आदेश भएको छ ।

‘यो मुद्दा हामी सबैको परीक्षा हो’ ढुंगानाले इकागजसँग भने, ‘म व्यक्तिगत रूपमा आजीवन स्वतन्त्रता लडेको मानिस हुँ । मेरा लागि त अझ पनि स्वतन्त्रताका लागि धेरै लड्नुपर्ने रहेछ भन्‍ने प्रेरणा दिएको छ ।’
 
ढुंगाना २०४७ का संविधान निर्मातामध्येका एक हुन् । उनी २०४८ मा प्रतिनिधि सभाका सभामुख थिए । ढुंगाना राजनीतिक पदमा नरहँदा कानुन व्यवसायमा संलग्‍न रहँदै आएका छन् । उनले आफूले रिट निवेदनमा उल्लेख गरिएको दाबी हेर्न नपाएको उल्लेख गरे । 


प्रतिनिधि सभा पुनर्स्थापना नभए न्यायाधीशका हकमा समस्या आइपर्ने भन्‍ने टिप्पणी आएको थियो । ‘मैले अनलाइनमा बोलेका विषयका आधारमा मुद्दा चलाइएको हुन सक्छ’ ढुंगानाले भने, ‘रिट निवेदकको दाबी हेरौं ।’

‘यो एउटा मापदण्ड स्थापित गर्ने मुद्दा हो’ ढुंगानाले भने, ‘म चाहिँ वाद, विचार र अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायलय र अदालतको अपहेलनाको दायरा मापन गर्ने मुद्दाको रूपमा लिन्छु ।’ 
यो मुद्दाले खुला समाजका मूल्य, मान्यता, त्यसपछि विचार र अभिव्यक्तिको संवैधानिक स्वतन्त्रता मापन कसीमा जाँचिने उल्लेख गर्दै ढुंगानाले भने, ‘म जिन्दगीभर स्वतन्त्रताका लागि लडेको मानिस हुँ । म कानुनको ज्ञाता पनि हुँ । जिम्मेवार नागरिक पनि हुँ ।’

यो मुद्दा र अदालतको आदेशबाट आफू कुनै विचलित नभएको टिप्पणी गर्दै ढुंगानाले भने, ‘यो मुद्दामा जवाफ दिन पाउनु मेरा लागि एउटा जीवनको थप प्रेरणा पनि हो । किनभने आजीवन स्वतन्त्रताका लागि लडेको हुँ । तर अझ स्वतन्त्रताका लागि मेरो लडाईं सकिएको रहेनछ भन्‍ने थप ऊर्जा र प्रेरणा दिएको छ ।’


 


Author

थप समाचार
x