क्रिकेट

अंक अनुपातमा आईसीसी विश्वकप लिग-२ : शीर्ष तीनमध्ये दुई स्थानमात्र खाली हुँदा नेपाल कहाँ ?

सञ्जीव शाह |
जेठ २७, २०७९ शुक्रबार १४:० बजे

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत ओमानले अब दुई खेलमात्र खेल्न बाँकी छ । लिगअन्तर्गत ३४ खेल खेलेको ओमानले ३५ औँ खेल नेपाल र ३६औँ खेल अमेरिकाविरुद्ध खेल्दैछ । 

ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ र बाँकी दुवै खेल जितेमा उसको ४६ अंक हुन सक्छ । तर अहिलेको तथ्यांकलाई हेर्ने हो भने ओमान शीर्ष तीन स्थानमा रहने बलियो सम्भावना देखाउँछ । 


शीर्ष तीनमा रहने टोली २०२३ को आईसीसी पुरुष विश्वकपका लागि हुने छनोटमा स्थान बनाउन सफल हुनेछन् । त्यतिमात्र नभएर शीर्ष तीनमा रहने टोलीसँगै चौथों र पाँचौं स्थान हात पार्ने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत कायम राख्नेछ । अर्कोतर्फ पुछारका ४ टिमले विश्वकप छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने आईसीसीले जनाएको छ । 

अहिलेसम्मको अवस्था हेर्दा सबैभन्दा बढी खेल खेलेको तथा सबैभन्दा बढी अंक जोडेको ओमान शीर्ष तीनका लागि बलियो अवस्था छ । उसको प्रत्येक खेलको अंकको अनुपात हेर्दा १.२४ छ । यता २० खेलबाट २८ अंक जोडेको तथा १६ खेल खेल्न बाँकी रहेको स्कटल्यान्डको अनुपात १.४ छ । 

यता २२ खेलबाट २६ अंक जोडेको तथा १४ खेल खेल्न बाँकी रहेको युएईको अंक अनुपात १.१८ छ भने २१ खेलबाट २० अंक जोडेको तथा १५ खेल खेल्नुपर्ने अमेरिकाको अंक अनुपात ०.९५ रहेको छ । 

त्यसैगरी, १४ खेलबाट १४ अंक जोडेको तथा २२ खेल खेल्न बाँकी रहेको नामिवियाको अनुपात १ तथा १३ खेलबाट १२ अंक जोडेको तथा २३ खेल खेल्न बाँकी नेपालको अनुपात ०.९२ रहेको छ । २० खेलबाट केवल २ अंक जोडेको तथा १६ खेल खेल्न बाँकी रहेको पपुवा न्युगिनीको भने अंक अनुपात ०.१ रहेको छ । 

अंक अनुपात हेर्ने हो भने सबै भन्दा बलियो स्थानमा स्कटल्यान्ड रहेको छ र त्यसपछि ओमान छ । ओमानले २ खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा उसले शीर्ष तीनमा स्थान बनाउने सम्भावना बलियो रहेको देखाउँछ । 

त्यसपछि शीर्ष तीन स्थानका लागि बलियो टोली भनेको युएई हो । यता अंक अनुपातमा स्कटल्यान्ड, ओमान र युएई पछि नामिविया र अमेरिका पनि नेपाल भन्दा माथि रहेका छन् । केवल पीएनजीमात्र नेपाल भन्दा पछि रहेको छ । 

अंक तालिकाः

श्रोतः आईसीसी


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x