क्रिकेट

फ्रेन्चाइज लिगमा सन्दीपको आकर्षण किन घट्यो ?

सञ्जीव शाह |
चैत २५, २०७८ शुक्रबार १५:१५ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ – पछिल्लो पटक नेपाल क्रिकेट टिमका कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने सन् २०२२ को पाकिस्तान सुपर लिग (पीएसएल), इन्डियन प्रिमियर लिग (आईपीएल) तथा द हन्ड्रेड जस्ता फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि कुनै पनि टिममा अटाएनन् । 

युवा क्रिकेटर लामिछाने नेपाली टिमका एक बलिया खम्बा हुन् । क्रिकेटलाई माया गर्ने नेपालीका लागि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै लामिछाने एक चर्चित नाम हो । उनको बलिङबाट प्रभावित नभएको कमै होलान् । 


सन् २०१८ मा आईपीएलका लागि तत्कालीन दिल्ली डेयरडेभिल्सी (अहिलेको दिल्ली क्यापिटल्स) मा आवद्ध भएपछि सन्दीपको चर्चा पनि चुलिएकै थियो । उनी रातारात ग्लोबल स्टार बने । 

अहिले उनी नेपाली क्रिकेटको कप्तानी समेत सम्हालिरहेका छन् र उनी लामै समय नेपाली टिमको कप्तान रहने लगभग पक्का जस्तै छ । उनीमाथि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पनि विश्वास गरेकै छन् । 

नेपाललाई आईसीसी टी–ट्वान्टी विश्वकपमा पुर्याउन नसकेपनि उनले घरेलु मैदानमा त्रिकोणात्मक सिरिजको उपाधि जिताएर उक्त असफलतामाथि केही हदसम्म पार पाउने प्रयास गरेका छन् । 

तर अर्कोतर्फ भने उनले फ्रेन्चाइज लिगहरुमा अवसर पाउन छाडेका छन् । सन् २०१८ देखि फ्रेन्चाइज क्रिकेटमा पाएको सन्दीपको सफलताले निरन्तरतामा ब्रेक लागेको छ । 

लामिछानेलाई २०२२ मा भएको पीएसएलका लागि ड्राफ्टबाट कुनै पनि टिमले खरिद गरेनन् । आईपीएलका लागि भएको मेगा अक्सनमा पनि कुनै टिमले लामिछानेलाई खरिद गर्ने इच्छा देखाएनन् । अक्सनका लागि लामिछानेको न्यूनतम मूल्य ६४ लाख नेपाली रहेको थियो । तर त्यति रकम पनि आईपीएलका टिमले खर्च गरेन् । 

भर्खरै भएको इग्ल्यान्डको द हन्ड्रेड क्रिकेटको ड्राफ्टबाट पनि कुनै टिमले लामिछानेलाई भित्राउने मनसाय बनाएनन् । लामिछानेले न्यूनतम ६० हजार पाउन्ड मुल्य राखेका थिए । एक सय बलको क्रिकेट प्रतियोगिताका लागि अघिल्लो सिजनमा ओभल इन्भिन्सिबल्समा आवद्ध भएपनि भिषाका कारण उनले खेल्न पाएका थिएनन् । त्यसपछि क्लबले उनलाई रिलिज गरेको थियो ।

सन् २०१८ मा आईपीएलका लागि दिल्लीमा आवद्ध भएपछि लामिछाने तीन वर्षसम्म दिल्लीमै रहे । दिल्लीले क्लबमा भित्र्याएस“गै लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बने । त्यो भन्दामाथि आईपीएलले सन्दीपका लागि विश्वका विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि ढोका खोलिदियो । 
सन् २०१८ कै क्यारेवियन प्रिमियर लिगका लागि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले लामिछानेलाई भित्र्यायो । क्यारेवियन प्रिमियर लिगकै लागि सन्दीपलाई सन् २०१९ मा बाबाडोस ट्रिडेन्ट्स तथा सन् २०२० मा जमैका तालावाहसले टिममा स्थान दियो । 

सन् २०१८ मै लामिछाने ग्लोबल टी–ट्वान्टी क्यानाडाका लागि मोन्टेरियल टाइगर्समा आवद्ध भए भने अफगानिस्तान प्रिमियर लिगका लागि उनलाई नानगरहर लियोपार्डसले खरिद गर्यो । 

सन् २०१८ मै अष्ट्रेलियाको विग बास लिगका लागि मेलबर्न स्टार्समा आवद्ध भएका लामिछानेले दुई सिजन स्टार्सका लागि खेलिसकेपछि पछिल्लो पटक होबार्ट हरिकेन्सका लागि खेले । उनी अहिले होबार्टमा आवद्ध छन् ।

२०१९ मा बंगलादेश प्रिमियर लिगका लागि सिल्हेट सिक्सर्स, पाकिस्तान सुपर लिगका लागि लाहोर कलन्दर्समा आवद्ध भएका लामिछाने ग्लोबल टी–ट्वान्टी क्यानाडाका लागि टोरन्टो नेशनल्समा आवद्ध भए । 

लामिछानेको सफलता तथा उडान कुनै चमत्कार भन्दा कम पक्कै होइन् । तर आईपीएलसँगै विश्वका प्रायजसो सबै फ्रेन्चाइज प्रतियोगिता खेलका लामिछानेले भने पछिल्लो समय एकपछि अर्को अवसर गुमाउदैछन् ।

अर्को अर्थमा लामिछानेको प्रतिभामाथि विश्वास गर्न छाडेका छन् र ठूलो रकम खर्चिन चाहेको देखिदैन । र यसलाई आधार मान्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा लामिछानेको लोकप्रियतामा कमी आएको देखिन्छ ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x