अपराध

पर्सामा बुवा-आमाले गरे आफ्‍नै छोरीको हत्या

माधुरी महतो |
पुस २९, २०७७ बुधबार १५:२४ बजे

प्रतिकात्मक तस्वीर

वीरगन्ज : पर्साको बहुदरामाई नगरपालिकामा आमाबुवाले आफ्नै छोरीलाई जलाएर हत्या गरेको खुलासा भएको छ । कात्तिक २९ गते लक्ष्मीपुजाको दिन वडा नम्बर ८ रामनगरीमा आगलागीमा परी मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घर भित्र माना कुमारीको शव भेटिएको थियो । उनी निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले त्यस बेला गरेका थिए । 

तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेपछि घटनाको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 


मृतक किशोरीकी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । लालमती देवीलाई पक्राउगरी थप अनुसन्धान गर्दै जाँदा कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर हत्या गरेको रहस्य खुलेको हो । तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकार गरेकी हुन् । लालमतीका श्रीमान मनाबोध फरार छन् । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


Author

थप समाचार
x