कूटनीति

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट

इकागज |
भदौ २१, २०८० बिहीबार १४:३५ बजे

काठमाडौं - सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । 

सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बिहीबार भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 


भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । 
‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी लागेको छ,’ उनले भने । 

नेपाली विद्यार्थीहरूको ठूलो संख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरूको शैक्षिक वृत्ति विकासबारे चासो राखे । जवाफमा राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराइन् । 

उनले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराइन् । उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराइन् । 
 


Author

थप समाचार
x