कूटनीति

प्रधानमन्त्री देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास, नेपाल सरकारले दियो १ करोड

इकागज |
चैत २०, २०७८ १५:२२ बजे

वाराणसी - भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । 

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । 


नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । 

नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ । 

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरेका छन् । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । रासस
 



Author

थप समाचार
ad
x