रोग र उपचार

स्तन क्यान्सर के हो ? कुन उमेर समूहका मानिसमा बढी देखिन्छ ?

अतिन आचार्य |
कात्तिक १७, २०८० शुक्रबार १६:४१ बजे

काठमाडौँ- स्वास्थ्य रहने सबै मानिसको चाहना हुन्छ । मानिसले स्वस्थ रहनका लागि विभिन्न प्रयास गरिरहन्छन् । मानिसले रोग लाग्न नदिन आफूलाई सुरुमा सचेत राख्नुपर्छ । कतिपय अवस्थामा मानिसले आफूलाई रोगबाट टाढा राख्न खोजे पनि रोग लागेर छोड्ने गर्छ ।

पछिल्लो समय वातावरण प्रदूषण र अव्यवस्थित खानपानका कारण प्राणघातक रोग लाग्ने गरेको छ । यस्ता प्राणघातक रोग लागि अनाहकमा मानिसले ज्यान गुमाउने गरेका छन् ।


यस्तै रोगमध्ये सबैभन्दा बढी प्राणघातक क्यान्सर रोगलाई मानिएको छ । त्यसमध्ये पनि हिजोआज स्तन क्यान्सर धेरै मानिसमा देखिन थालेको छ । बढी जसो महिलामा देखिने गरेको छ । तर, पुरुषमा यो रोग निकै कम मात्रा लाग्ने गरेको छ ।

धेरै मानिसहरू रोगलाई लुकाएर राख्ने, भन्न लजाउने, चेतनाको कमी र  रोगको बारेमा जानकारी नहुँदा पछि जटिल बन्दै जान्छ । समयमा उपचार गरिएमा यस रोग निको पनि हुने गरेको छ ।

समयमा स्तन क्यान्सरको लक्षणलाई पहिचान गरी उपचार प्रक्रियामा लाग्ने हो भने यसको निदान गर्न सकिन्छ । त्यसैले समयमा लक्षण पहिचान गर्न जरुरी छ ।

कस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरू ?

स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु 

स्तनमा गाँठो, गिर्खा आउनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनमा कुनै असामान्य अवस्था त छैन भनी शंका लागेको अवस्थामा स्तनको परीक्षण गर्नु आवश्यक छ । स्तनमा कुनै किसिमको गाँठो त छैन भनी आफै निरीक्षण गर्न सकिन्छ । यस्तो गाँठोले पीडा नदिन पनि सक्ने भएकाले कतिपय महिला यसलाई खासै वास्ता गर्दैनन् । यस्तो गाँठो स्तनको कुनै पनि भागमा अथवा स्तन वरिपरि हुन सक्छ । धेरैजसो काखीको छेउमा यस्तो गाँठो आउने गर्छ । यदि स्तनमा अथवा यसको वरिपरि कुनै पनि किसिमको गाँठो छ भने तुरुन्त चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ । स्तन क्यान्सर भएको छ भने स्तनको आकार बढेर दुई स्तनको आकार फरक हुन सक्छ । 

स्तनको टुप्पोमा असाधारण परिवर्तन 

स्तनको टुप्पोमा असामान्य परिवर्तन देखिएको छ र यसको कारण थाहा पाउन सकिएको छैन भने यो पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनको टुप्पोको दिशा परिवर्तन भएको छ, भित्र दबिँदै गएको छ अथवा आफ्नो स्थानमा सामान्य रुपमा छैन भने यो स्तन क्यान्सरको लक्षण हो । 

छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु

त्यस्तै, स्तनको छालाको रङ असाधारण रुपले परिवर्तन हुनु पनि स्तन क्यान्सरको लक्षण हो । यदि स्तनको रङ रातो अथवा असाधारण देखिन थालेको छ भने परीक्षण गराउनु अत्यन्त आवश्यक छ । त्यस्तै, क्यान्सर लागिसकेको छ भने स्तनको टुप्पोको अथवा वरिपरिको छाला खुइलिन थाल्छ । सुन्तलाको जस्तो रंग देखिने गर्छ ।

असामान्य रुपले दूध, पानी अथवा रगत आउनु

स्तन क्यान्सर भएको छ भने स्तनबाट असाधारण रुपले दूध अथवा पानी बग्न थाल्छ । त्यस्तै, क्यान्सरले प्राथमिक चरण पार गरिसकेको छ भने गाँठो अथवा गिर्खा बढ्दै गएर स्तनबाट रगत पनि आउन थाल्छ । 

स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्न थाल्नु 

क्यान्सरले प्रारम्भिक चरण पार गरिसकेको छ भने स्तनमा असामान्य रुपले पीडा हुन थाल्छ । त्यस्तै, हाडजोर्नीमा दुख्ने, शरीर झमझमाउने, कमजोर महसुस हुने र असाधारण रुपले शरीरको तौल घट्दै जान थाल्छ । शरीरको तौल घटाउने महिलाहरूको सोख हुन सक्छ । शरीरको तौल घट्दै गएको छ भनी मख्ख नपरी खानामा कमी नगरी र कुनै पनि व्यायाम नगरी शरीरको तौल घट्दै गएको छ भने यो स्तन क्यान्सरको लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । माथि उल्लिखित लक्षण क्यान्सरको मात्र लक्षण नभई अन्य रोगको पनि लक्षण हुन सक्छन् । त्यसैले डराइहाल्नु भने जरुरी छैन । तथापि, डाक्टरको सल्लाहअनुसार मेमोग्रामको माध्यमले स्तन क्यान्सरको परीक्षण गर्न सकिन्छ । मेमोग्रामको उपयोग गरी स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदि स्तन क्यान्सर लागिसकेको छ भने पनि सुरुवाती अवस्था भएमा यसको उपचार सजिलै हुन्छ र लामो समयसम्म स्वस्थ जीवन जिउन सकिन्छ । 

स्तन क्यान्सरको कारण 

शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । हर्मोनको गडबढ र धुम्रपान तथा मद्यपान सेवन पनि अर्को कारण रहेको छ । वंशाणुगत गुणको कारण पनि रहन्छ । परिवारमा कसैलाई यसअघि देखिएको भने परिवारको केही सदस्यलाई देखिन सक्छ । शरीरको आवश्यकता अनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ । त्यस्तै, स्तनका कोशिकाहरु अनियन्त्रित रुपमा बढ्नु स्तन क्यान्सरको मुख्य कारण हो । अनियन्त्रित रुपमा कोशिकाहरु बढेर जम्मा भएपछि गाँठोको रुप लिन्छ । यसलाई क्यान्सरको ट्युमर पनि भनिन्छ । 

कुन उमेर समूहका मानिसमा यो देखिन्छ?

२० देखि ३० वर्ष उमेर समूहका एकदमै कम मानिसमा देखिन्छ । ३० देखि ४० मा अझ बढीमा देखिन्छ र ४० देखि ५० वर्ष उमेर समूहका मानिसमा अझ बढी देखिन्छ ।

स्तन क्यान्सरबाट बच्ने उपाय 

नियमित रुपमा ब्ल्याक टी अथवा ग्रीन टी पिउनाले स्तन क्यान्सर नलाग्ने सम्भावना हुन्छ । यसमा पाइने एपिग्यालो क्याटचिन नामक तत्त्वले ट्युमरका कोशिकालाई अनियन्त्रित रुपमा बढ्न दिँदैन । 

भिटामिन डीको सेवनले क्यान्सरका कोशिकाको वृद्धिलाई रोक्न सहयोग गर्छ । त्यस्तै, नियमित रुपमा दूध, दही, माछा, मासु खानु पनि फाइदाकारी हुन्छ । तर, ती खानामा चिल्लोको मात्रा कम हुनु आवश्यक छ । 

भिटामिन सीले पनि स्तन क्यान्सरबाट बचाउँछ । यसले प्रतिरक्षा प्रणालीलाई सबल बनाई क्यान्सरका कोशिका बढ्न दिँदैन । 

क्यान्सरका कोशिकालाई बढ्न नदिन जमराको रस र अनार पनि उपयोगी हुन्छ । यसले शरीरमा भएका हानिकारक तत्त्वलाई बाहिर निकाली प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाइराख्छ । 

नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्त कोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ । 
समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ । हरेक महिलाले समय- समयमा मेमोग्रामको प्रयोग परीक्षण गरिरहनु पर्छ ।

उपचार खर्च कति खर्च लाग्छ ?

रोग लागेको सुरुवाती चरणमा चिकित्सक तथा अस्पतालमा पुगेमा अधिकत रुपमा ३ देखि ४ लाख रुपैयाँ लाग्ने गर्छ । सरकारले विपन्न बिरामीलाई पनि उपचार खर्च स्वरुप १ लाख रुपैयाँ दिएको छ । किमोथेरापी र रेडियोथेरापी गर्दा बढी खर्च लाग्छ । सही समयमा राम्रो चिकित्सक छनौट गरेर उपचार गराएमा बिरामीको बढी खर्च हुँदैन । उपचार गर्दा धेरैको घरबार पनि सकिने गरेको छ । चिकित्सकले रोग मात्र नभइ बिरामीको उपचार गर्ने हो । बिरामी निको हुँदा उसको सामाजिक र आर्थिक अवस्था सहज होस भन्ने चाहना छ । चिकित्सकले लागत अनुमान गरेभन्दा कम खर्च एक देखि डेढ लाखमा निको भएर बिरामी घर फर्केका उदाहरण छन् ।

कुराकानीमा आधारित

क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, विराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पताल


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x