रोग र उपचार

सन्दर्भः विश्व मधुमेह दिवस

मधुमेह हुन नदिन के गर्ने, भएपछि के गर्ने ?

इकागज |
कात्तिक २८, २०७८ आइतबार ६:४२ बजे

फाइल फोटो

रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखिनुलाई मधुमेह भनिन्छ । यसलाई सुगर वा चिनी रोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा धेरै हुनु राम्रो होइन । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने शरीरका विभिन्न अंगहरू जस्तैः आँखा, मुटु, मृगौला आदिमा असर पुर्‍याउन सक्छ । 

मधुमेह विशेषगरी दुई प्रकारले देखिन्छ । पहिलो, परिवारको सदस्य कसैलाई भएको छ भने उनीहरूको सन्तानमा देखिन सक्छ । दोस्रो, जीवनशैलीको कारणले पनि धेरैजनालाई मधुमेहले सताइरहेको हुन्छ । खानपानमा ध्यान नदिने, मोटोपन नियन्त्रण गर्न नसक्ने, शारीरिक व्यायम नगर्नेहरूमा मधुमेह देखिन्छ ।


सामान्यतया स्वस्थ मानिसको खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल एक सयभन्दा कम हुनुपर्छ । त्यस्तै, खाना खाएपछि जाँच गर्दा १ सय ४० भन्दा कम हुनुपर्छ । तर, यदि खाली पेटको जाँच गर्दा सुगर लेभल १ सय २६ भन्दामाथि र खानापछि २ सयभन्दा बढी छ भने उसलाई मधुमेह छ भनेर बुझ्नुपर्छ । 

मधुमेहका लक्षण
–    तिर्खा लाग्नु 
–    पटकपटक पिसाब लाग्नु 
–    पिसावमा कमिलाहरू देखिन थाल्नु
–    घाउ खटिरा लामो समयसम्म निको नहुनु 
–    आँखा धमिलो देख्न थाल्नु
–    हातखुट्टा झमझमाउनु 
–    जिउ गलेको महसुस हुनु 
–    भोक बढी लागे पनि दुब्लाउँदै जानु 

के खाने, के नखाने ? 
मधुमेहका बिरामीले कार्बोहाइड्रेटयुक्त खानेकुरा जस्तैः भात, आलु कम खानुपर्छ । चामलको सट्टा गहुँ, मकै, कोदो, फापर जस्ता खानेकुरा खानुपर्छ । त्यस्तै, चिल्लो, बोसो र रातो मासु धेरै खानु हुँदैन । अण्डा र माछा पनि थोरै मात्रामा मात्र खानुपर्छ । चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, पेय पदार्थ, केक, आइसक्रिम, बिस्कुट जस्ता खानेकुरा खानुहुँदैन । त्यस्तै अण्डा, माछा र नुन पनि कम मात्रामा मात्रै खानुपर्छ । मधुमेहमा बिरामी चुरोट, बिडी, सुर्ती, तमाखु, खैनी लगायतबाट टाढै बस्नुपर्छ । यसले रोगको जटिलतालाई झनै बढाउँछ । 

मधुमेहमा नियमित जाँच गर्नुपर्ने कुराहरू 
–    रगतमा सुगरको मात्रा
–    उचाइअनुसार तौल
–    रक्तचाप
–    आँखा 
–    पिसाब
–    मिगौला आदि

मधुमेहको रोकथाम र उपचारका उपायहरू 

–    दिनमा आधादेखि एक घण्टासम्म हिँड्ने,
–    खोतबारीमा काम गर्ने वा शारीरिक परिश्रम पर्ने काम गर्ने 
–    उचाइअनुसार तौल कायम राख्ने 
–    स्वस्थ खानपानमा ध्यान दिने
–    चुरोट, बिडी, सुर्ती, तमाखु, खैनीजस्ता सुर्तीजन्य पदार्थको सेवन नगर्ने 
–    प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने 
–    चिकित्सकले सिफारिस गरेअनुसारको औषधी मात्र प्रयोग गर्ने 
–    बेला–बेलामा चिकित्सकको सल्लाह लिने


Author

थप समाचार
x