रङ्गमन्च

आर्ट ग्यालरी र म्युजियमको माग

इकागज |
असार २७, २०८० बुधबार २१:५३ बजे

भरतपुर - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार नारायणगढमा आयोजित कार्यक्रममा आर्ट ग्यालरी र म्युजियमको माग गरिएको छ । चितवन र नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठीका वक्ताहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं आयोजक संस्थाका उपकुलपति लालकाजी लामाले महानगरभित्र अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी चाहिने भन्दै सिटी हलको निर्माणपछि त्यसैको एउटा कुनामा आर्ट ग्यालरी राख्न सकिने बताए । ‘पपिश्चम चितवनमा भव्य कला ग्राम बनाउन सकिन्छ’ उनले भने, ‘आधुनिक कला संग्रहालय पनि आवश्यक छ ।’


यसअघि कवि एवं लेखक भूपिन खड्काले भरतपुर महानगरमा कला संग्रहालय नभएको भन्दै निर्माण गरिनु पर्नेमा जोड दिएका थिए । ‘नारायणी नदी वारिपारि चित्रकारिताको विकास भइरहेको छ । यस्तो विकास बलियो छ’ भूपिनले भने, ‘चितवन र नवलपुरका कलाकारको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागिता राम्रो छ तर यहाँ लैनसिंह बाङ्देल र मनुजबाबु मिश्र जन्मन सकेका छैनन् ।’

आयोजक संस्थाको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा चित्रकार प्रकाश थापा ‘प्रथा’ ले कार्यपत्र प्रस्तुत गर्दै चितवन र नवलपरासी क्षेत्रमा ललितकलाको विकास, इतिहास, वर्तमान, सम्भावना र चुनौतीबारे बोलेका थिए । 

उनको कार्यपत्रमाथि लेखक एवं समालोचक डिआर पोखरेल, चित्रकार भीम शर्मा, मूर्तिकारद्वय सूर्य मध्यरात र तमबहादुर पुन, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले टिप्पणी गरेका थिए ।

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले चितवन र नवलपरासी क्षेत्रलाई कला नगरीका रुपमा विकास गर्नुपर्ने बताए । यसका लागि सबै ऐक्यबद्ध भएर काम गरिनुपर्ने उनको भनाइ थियो । साहित्य र कला क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन दिँदै कवि एवं चित्रकार समेत रहेका उपकुलपछि विनोदीले निरन्तरको साधनाबाट परिपक्वता आउने बताए ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले कला क्षेत्रमा प्रोत्साहनको कमी भएको बताए । यसतर्फ प्रतिष्ठानको ध्यान नपुगेको उनले स्वीकार गरे । कला गृह निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान, चितवन ललितकला प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहकार्य रहेको थियो ।


Author

थप समाचार
x