सम्पादकीय

सम्पादकीय

महिला र दलितलाई मान्छे ठान्ने कहिले ?

इकागज |
फागुन १५, २०७९ सोमबार १८:४६ बजे

मानिस संयोगले कुनै जातमा जन्मन्छ । कुनै वंश, कुनै लिंग, कुनै धर्म, कुनै क्षेत्र (राज्य), कुनै भाषा, कुनै वर्ण, इत्यादिमा मान्छेको जन्म हुन्छ । पहिचानका यी शब्दहरू संयोग मात्र हुन् । संयोगले हामी यस्ता कुनै न कुनै पहिचानधारी बन्छौँ । अनि हामीलाई यही प्यारो लाग्दै जान्छ । प्यारो लाग्नु अनौठो छैन । 

तर, आफूभन्दा फरक लिंग, फरक जात, फरक धर्म, फरक आस्था, फरक हर कुरामा हाम्रो दृष्टिकोण के त ? हामी संयोगले पाएका पहिचानबारे के सोच्छौँ ? कतै हामी यस्ता सांयोगिक फरक पहिचानलाई अस्वीकार त गरिरहेका छैनौँ ? अर्थात् फरक पहिचानलाई निम्न कोटिको त ठानिरहेका छैनौँ ? संयोगले पाएका यी पहिचानमा गर्व गर्नु एउटा कुरा तर यिनैमा अंहकारी हुनु प्रकारान्तरले अर्काे पहिचानलाई अपमान गर्नु हो । 


पुरुष भएर जन्मिनु संयोग मात्र हो । पुरुष भएर जन्मिनुमा कुनै हानि छैन । तर, पुरुष भएँ भन्दैमा हामी महिला वा अरु लिंगलाई कसरी हेर्छौं ? कस्तो व्यवहार गर्छाैं ? जन्मिँदा, हुर्किंदा जस्तो जे सोचे पनि पढ्दै बढ्दै जाँदा हामी कति मानवीय भयौँ त ? मानवीय हुनुको अर्थ हो, अरु भई सोच्न सक्नु । 

सोच्नुपर्छ- संयोगले म पुरुष वा बाहुन–क्षेत्री–ठकुरी भएँ । म यस्तो नहुन पनि सक्थेँ । यदि म दलित समुदायमा जन्मिन्थेँ भने अहिले म जस्तो सोच्छु, कसैले ममाथि त्यस्तै सोच्थ्यो वा व्यवहार गर्थ्याे । अनि मलाई कति पीडा हुन्थ्यो होला ! यदि म महिला भएर जन्मिन्थेँ भने अहिले म जस्तो सोच्छु, कसैले ममाथि त्यस्तै सोच्थ्यो वा व्यवहार गर्थ्याे । अनि मलाई कति पीडा हुन्थ्यो होला ! 

यति सोच्नेबित्तिकै संयोगका पहिचानमा धेरै गर्व गर्नुपर्दैन । स्वतःस्फूर्त, आफूले कुनै मेहनत नै नगरी पाएका पहिचान-उपाधि-सोपानका गर्व गर्नु बेकार हो । मानिस आफ्नो जीवनमा जात, वंश, लिंग, धर्म, क्षेत्र (राज्य), वर्ण निरपेक्ष हुँदै जानुुपर्छ ।  

यस्ता संयोगहरूका आधारमा सोपान बन्नुहुँदैन । जातको सोपान, लिंगको सोपान, धर्मको सोपान आदि यी भत्किनुपर्छ । शिक्षा, चेतना, सृजना, आविष्कार, कर्म, सहिष्णुता, सेवा, करुणाभाव, सत्कर्मले मान्छेको पहिचान बन्नुपर्छ । यी मात्र बन्नुपर्छ, व्यक्तिका पहिचान । तर, साक्षरताको तथ्यांक जति उकालो चढेको देखाइए पनि मानवता भने ओरालो बाटोमा छ । किनकि हाम्रा कक्षा, परिवार, शिक्षा, संगत, सञ्चार, कार्यस्थल, समाज, राज्यमा मानवताको पाठ राम्ररी पढाइएको छैन । 

जात, लिंग आदिका आधारमा विभेद छ, अन्याय छ, अत्याचार छ भन्ने यथार्थ जबर्जस्ती लुकाइएको छ । यो निर्मम पाटोमा गहन विचार विमर्श भएकै छैन । समाजमा सद्भाव र भाइचारा छ भन्ने गलत कुरा पढाइएको छ । के भनिएको छैन भने कुनै लिंग, कुनै जातलाई यहाँ मान्छेको व्यवहार गरिएको छैन । सबले सबलाई बराबर आदर, सम्मान गर्नुपर्छ भन्ने यहाँ स्वीकार गरिएको छैन ।

मेरै जात, मेरै लिंग, मेरै धर्म, मेरै भाषा, मेरै देश, मेरै संस्कृति, मेरै इतिहास मात्र महान् भन्ने समाज पिछडा समाज हो । म महान् भन्नु गर्व हो । तर, म मात्र महान् भन्नु अहंकार हो, यो हानिकारक छ । यसले विविधताको सम्मान गर्ने सोच जन्मिन दिँदैन, जन्मेको छ भने पनि त्यस्तो सोच मारिदिन्छ । कक्षा र शिक्षाले खराबी देखाउनु, महसुस गराउनुपर्छ । अनि मात्र असल र सभ्य समाज निर्माण हुन सक्छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कति दलित युवाको लास अझै छ, ती के कारणले मारिएका हुन् भन्नेतिर किन सोचिन्न ? महिलाहरू किन दिनदिनै महिला सेलमा उजुरी दिन जान्छन्, खराबी कहाँ छ, किन सोचिन्न ? कति महिला दिनहुँ हिंसा सहेर बसेका छन्, किन देखिन्न ? यी पाटोमा प्रवेश नै नगरी उजुरीकर्ताहरुलाई अनावश्यक खेदो खन्ने हो भने समाज झन् बढी हिंस्रक हुन्छ । अत्यधिक दमनको प्रतिरोध हिंसाबाट हुन्छ । सबै खाले हिंसा अन्त्य होस् भन्ने चाहना राख्नेले पहिला आफ्नो शरीर मात्र हैन, इतिहास र राज्यलाई निर्वस्त्र पारेर ऐनामा हेर्नुपर्छ । 

सबै पुरुष, सबै बाहुन-क्षेत्री-ठकुरी खराब सोचका छन् भन्ने होइन । तर, समाजको पिँधमा पारिएका मानिसले के भोगेमा छन्, के सोचेका छन्, के चाहेका छन्, ती कति छन्, कहाँ छन्, भन्ने महत्वपूर्ण कुरा हो । पिँधका समस्या र भोगाइ सुन्ने देशव्यापी अभियान यत्रतत्रसर्वत्र सुरु हुनुपर्छ । आफूले विभेद नगरे पनि आफ्ना पुर्खाले गरेको विभेदमा क्षमा माग्दा केही बिग्रिन्न । बरु पीडित, उत्पीडित, बलात्कृतहरूको मनमा केही भए पनि मल्हम लाग्छ । गौतम बुद्धको देशमा सबैभन्दा पहिला राज्यले अर्थात् सरकारले क्षमायाचनाको राष्ट्रिय अजेन्डा पास र सञ्चार गर्नुपर्छ । अनि यसको सिको समाजमा हुनेछ । 

विभेद सहिरहेको पात्र विभिन्न कारणले, त्रास र आशले विवश भएर पीडा, यातना, हिंसा सहेर बसेको हुन सक्छ । कसैको सहनुलाई सहिष्णुताको अर्थमा व्याख्या गरिएको हुन सक्छ । हिजो ऊ बोलेन भन्दैमा आज ऊ चुप बस्दैन । बस्नु पनि हुँदैन । कुरा बुझ्यो भने ऊ चाहिनेभन्दा ठूलो स्वरले बोल्न पनि सक्छ । हिंसामा उत्रिन पनि सक्छ । यस्तोमा वर्षाैंदेखि लाभ पाइरहेको समुदाय क्षमाशील र उदार हुनुपर्छ । अन्यायमा परेकालाई सबले साथ दिनुपर्छ । अनि मात्र सामाजिक न्यायको, शान्तिको चाहना पूरा हुन्छ । 

झट्ट हेर्दा अपराधीको जयजयकार गर्नेहरूको दोष छ । तर, खासमा उनीहरुको कुनै दोष छैन । कारखाना जेको र जस्तो छ, उत्पादन त्यस्तै हुने हो । विभेदको जरो र शिक्षाको फूलपात मिहिन भएर हेर्ने हो भने कारखाना कस्तो छ ? थाहा भइहाल्छ । 

कोही मान्छेले आफू जस्तै अर्काे मान्छेलाई मान्छेको व्यवहार गर्दैन भने त्यो मान्छे नै हो त ? त्योसँग दिमाग त छ तर दिमाग खराब कुराले भरिएको छ । मन त छ तर मनभरि खराब सामल मात्र अटेसमटेस छ । शिक्षाको डिग्री त छ तर चेतना छैन । सामाजिक न्याय भन्ने शब्दावली नै नसुनेको हुन सक्छ । हिंसा जन्माउने कारखानाका मालिकहरूले गम्भीर भएर सोच्नुपर्छ । इँटाहरूमा मन भएन भनेर दुःखी हुनुभन्दा, इँटाहरुको गुणस्तर जाँच्नुभन्दा पहिला कारखानाकै गुणस्तर जाँच्नु वाञ्छनीय हुन्छ ।
मानवीय बनौँ । अरुको ठाउँमा बसी हेरौँ । आफूलाई कसैले पनि सानो जर्बजस्ती गरेको मन पर्दैन भने कसैलाई जबर्जस्ती गर्न पाइन्छ ? पाइँदैन । आफ्नो जस्तै हरेकको आत्मसम्मान र मर्यादा हुन्छ । अभियुक्त, अपराधी, अन्यायी, अत्याचारी, अहंकारी अब कोही नबनौँ । मानवीय व्यवहार गरौँ । हिंसाको भाषा मानवको भाषा होइन । मानवको भाषा शिक्षा र चेतनासहितको दिल र दिमागको भाषा हो ।


Author

थप समाचार
x