सम्पादकीय

सम्पादकीय

जनप्रतिनिधि र सीडीओहरू नजागेसम्म देशैभर फोहोर

इकागज |
फागुन १९, २०७९ शुक्रबार १८:३३ बजे

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ नगर क्षेत्रका फोहोर आफैँ टिपेर नगरलाई सफा राख्नुपर्छ भन्ने सन्देश बेला बेला दिंदै आएका छन् । यसो हेर्दा मेयरले फोहोर (कागजका टुक्रा, पान पराग र करेन्टका खोल आदि) टिपेको सुहाएन । तर यसभित्र खास सन्देश छ । कुनै पनि नगरवासीले सडकमा फोहोर फाल्नु हुँदैन भन्ने ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने नागरिकलाई अनुशासनमा राख्ने अर्कै विधि अपनाए । ६ लेनको मोहनापुल–अत्तररिया सडकको मेडियनको तारजाली नाघ्नेलाई उनले खादा लगाएर ‘सम्मान’ गरिदिए । बाटो काट्ने ठाउँ हुँदाहुँदै अल्छी गरेर तारजाली नै नाघेर फूलका बिरुवा कुल्चन थालेपछि मेयर हमाललाई त्यस्ता व्यक्तिलाई सम्मान गर्ने लहड चल्यो ।


एमालेका उतिबेलाका नेता गृहमन्त्री हुँदा सडकको डिभाइडर नाघेको फोटो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । स्वयम् गृहमन्त्रीले नै ट्राफिकको नियम मान्दैन भने त्यसको सन्देश आमनागरिकमा कस्तो जाला ? तत्कालीन गृहमन्त्री गौतमले पनि अल्छी गरेका थिए ।

यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । हरेक दिन, हरेक पल सडक, बजार, गल्लीमा हिंड्नेहरूले केही न केही किनिरहेका हुन्छन् । केही न केही खाइरहेका हुन्छन् । चुरोट खायो, ठूटो सडकमा फाल्यो । चकलेट, चुईगम, बिस्कुट किनेर खायो, त्यसको खोला सडकमै मिल्काइदियो । करेन्ट, परागजस्ता भारतबाट आयातीत प्लाष्टिकले पूरै देशलाई फोहोरी तुल्याइरहेको छ । 

एकताका प्रहरीले उपत्यकामा हर्न बजाउन प्रतिबन्ध लगायो । केही समय हर्न बजाएनन् पनि । हर्न बजाउनेलाई ट्राफिकले कारबाही गर्थ्याे । केही हदसम्म उपत्यकामा ध्वनिप्रदूषण कम भएको थियो । पछि प्रहरीले पनि लत्तो छाडिदियो । चालकहरूले हर्न मात्र होइन प्रेसर हर्न बजाउन थाले, त्यो पनि ट्राफिक प्रहरीकै अगाडि । ट्राफिक प्रहरीले आजभोलि हर्न बजे पनि मतलब गर्दैन । चालकहरू पनि हर्न बजाउन हौसिएका छन् र उपत्यकाको ध्वनिप्रदूषण पु्रानै लयमा फर्केको छ।

यिनै नेपालीहरू विदेशमा जाँदा यसरी सडकमा फोहोर फाल्दैनन् । यसो हेर्छन्, जताततै सफैसफा छ । त्यहाँ त फोहोर गर्नेलाई तत्काल कारबाही पनि हुन्छ । विदेशमा गएका अधिकांश नेपालीहरू ‘अनुशासित’ हुन्छन् । फर्केर नेपाल आउँदा पनि छाडा हुन्छन् । 

हेर्दा यो अति सानो विषयजस्तो लाग्ला । तर संघीय राजधानीको दरबारमार्ग देखि न्यूरोडसम्मका सडक, गल्ली, शहर जताततै यस्तै फोहोरका टुक्रा मिल्काउने गरिएको छ । महानगर वा नगरपालिकाले जति सफाइ कर्मचारी राखे पनि पुग्देन । बाटो–बाटोमा, टोल–टोलमा, गल्ली–गल्लीमा फोहोरहरू मिल्काइन्छ । असभ्यता प्रदर्शन गर्ने यस्ता नागरिकहरू दण्डित हुँदैनन्, झन् त्यस्ताको मनोबल बढ्दो छ । 

सडकमा लाखौं मान्छे हिंड्छन् । ओहोरोदोहोरो गर्छन् । उनीहरूले फोहोर सडकमा मिल्काइरहेका हुन्छन् । यति धेरै संख्यामा व्यक्तिहरूले फोहोर फाल्छन् । ती टिपेर वा उठाएर पनि साध्य चल्दैन । तिनलाई कारबाहीको डण्ठा चलाउन पनि सकिंदैन। फोहोर सडकमा फाल्नु हुँदैन भन्ने चेत पनि छैन । त्यही भएर उपत्यकालगायत मुलु्कका सबै शहर, गाउँ, टोल फोहोरै फोहोर छ ।

सफामा कहलिएको भक्तपुर नगरपालिका हो । भक्तपुर नगरपालिकाले दरबार क्षेत्रभित्र मात्र सफा राखेको छ । भक्तपुरका अन्य गल्ली र टोलमा पनि यस्तै फोहोर छ । यो असम्भयताको प्रतीक हो । नागरिकमा चेत नभएको पनि यसले देखाउँछ । यहाँ त चेत भएकाले पनि सडकमै फोहोर फाल्छन् । फोहोरमैला गर्नेलाई कारबाही गर्ने ऐन पनि छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैला व्यवस्थापन गर्ने दायित्व स्थानीय तहलाई दिएको छ । कसैले उक्त ऐनविपरीत फोहोरमैला फाले प्रमुख जिल्ला अधिकारीले एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गर्न सक्छ । 

तर त्यो ऐन कार्यान्वयन गर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता विषयमा सोच्ने फुर्सत छैन । जनप्रतिनिधिहरू पनि फोहोरमै ‘रम्न’ अभ्यस्त भइसकेका छन् । जनप्रतिनिधि र सीडीओहरू नजागेसम्म सडकमा फोहोर खाली हुँदैन । 


Author

थप समाचार
x