सम्पादकीय

सम्पादकीय

सुधारिएको फागु : उल्लास बढी, उच्छृंखल कम

इकागज |
फागुन २२, २०७९ सोमबार १९:१६ बजे

नेपाल बहुल चाडपर्वको देश हो । यहाँ अनेक जाति र धर्म छन् । त्यसअनुसार अनेक रहनसहन र परम्परा छन् । ऋतुअनुसारका पर्वको आफ्नै स्वाद र शैली छ । चाडपर्वलाई धार्मिक रूपमा संकुचित तरिकाले होइन । सांस्कृतिक रूपमा मनाउनुपर्छ ।

चाडपर्वको महत्व भावनात्मक उल्लासमा छ । चाडपर्वले सबैलाई खुसी दिनुपर्छ । यो गरिबका लागि, महिलाका लागि दिक्कलाग्दो बन्नु हुँदैन । चाडपर्वले तोड्ने होइन, जोड्ने काम गर्नुपर्छ । चाडपर्वले आनन्दको वातावरण बनाओस्, कुनै पनि खाले यातना दिएर नजाओस् ।


फागु पूर्णिमा अर्थात् होली पर्वको पौराणिक मिथकीय जन्मकथा छ । यसको सांस्कृतिक पाटो अविच्छिन्न जीवित छ । फागु रङहरूको पर्व हो । रङ खुसीहरूको प्रतीक हो । खुसी जीवन जिउने सबैभन्दा सुन्दर अनुभूति हो ।

होली खुसीको पर्व हो । अन्य चाडपर्व जस्तै यसले पनि सबै नेपालीलाई भावनात्मक रूपमा जोडेको छ र जोड्नुपर्छ । विगतका दिनमा यो चाड महिलाहरूलाई यातनाका रूपमा रहने गर्थ्यो । महिलाहरूलाई हप्तौँ पहिलेदेखि लोला प्रहार गरिन्थ्यो । अनुमतिबिना रंग लगाइन्थ्यो । रंगको बहानामा ब्याड टच गरिन्थ्यो । धेरै महिलाका लागि यो चाड नमीठो स्मृति बनेर पनि रहेको छ । यो दिन धेरै महिलाले आफ्नो शरीरका संवेदनशील, निजी, गुप्त अंगमा कसैको प्रहार सहेका हुन सक्छन् । होलीमा विकृति थप्दै यसको संस्कृति नष्ट गर्ने काम अब कम हुन थालेको छ । यो स्वागतयोग्य कुरा हो ।

अब फागु बिस्तारै उच्छृंखल हुन छाडेको हो कि भन्ने भान हुन थालेको छ । यो सुन्दर पक्ष हो । कानुनको डरले होस् वा चेतना बढेर, होली मानवीय बन्दै गएको छ । तर, मोबाइल फोनको लतका कारण हुन सक्छ, समूहमा मिलेर खेल खेल्ने चलन पनि घट्दो छ । मानिसहरू सामूहिक रूपमा नाच्न छाडेर एक्लै एक्लै नाच्न, अभिनय गर्न थालेका छन् । यो टिकटकका लागि हुँदो रहेछ ।

सामूहिकताले सामाजिकता बढाउँछ । आपसी सञ्चारले खुला सञ्चारको वातावरण बनाउँछ । परिवार, साथीहरू सँगै बसेर चाडबाड मनाउनु र रमाउनुका फाइदा अनेक छन् । बढ्दो मनोवैज्ञानिक एक्लोपन पनि चाडपर्वहरूले कम गर्छन् । 

तर, होली होस् वा अरु चाडमा धेरै खर्च गर्ने चलनले पनि विकृतिको रूप लिएको छ । विद्यालयले आभिभावकलाई बेग्लै पोसाक र पिचकारी अनिवार्य ल्याउनु भनेर उर्दी जारी गर्छ । यो बेठीक छ । खुसी साधनले, खर्चले बढ्ने होइन । बरु बढ्दो खर्चले त उल्टै तनाव पो थप्छ । 

समग्रमा होली विकृति होइन, संस्कृति बनेको छ । चाडबाडका खराब पक्षमा सुधार गर्दै यिनलाई मनाउनुपर्छ । नेपालीपनको मौलिकता यसमा छ । भावी पुस्तालाई संयम र संस्कृति हस्तान्तरण गर्नुपर्छ । नयाँ पुस्तालाई फागुको किंवदन्ती थाहा होस् र त्यो भन्दा बढी यसको सांस्कृतिकता र सामूहिकता थाहा होस् । जीवन उपयोगी सीपमध्येको एक सीप प्रभावकारी सञ्चार हो । र, प्रभावकारी सञ्चारको एक तरिका चाडबाडमा हुने एकता र भेटघाट पनि हो ।


Author

थप समाचार
x