सम्पादकीय

सम्पादकीय

करदाताहरू ! कर खानेहरूसँग मुखमुख लाग्नुस्

इकागज |
चैत २४, २०७९ शुक्रबार १७:१८ बजे

जसरी चैत–वैशाखले प्रकृतिमा नयाँ पालुवा थप्छ, उसरी नै चैत–वैशाखले पनि राजनीतिक वृत्तमा पुराना पात झार्ने र नयाँ पात पलाउने गरेको इतिहास छ । वसन्त ऋतु प्रकृतिको मात्र होइन, राजनीतिको पनि क्रान्ति ऋतु हो । राजनीतिक वृत्तका ‘पात’हरू कहिले झर्छन्, यो चासोको विषय हो ।

२००७ सालको परिवर्तन यस्तै फागुनमै भएको थियो । पहिलो आमनिर्वाचन पनि २०१५ फागुन–चैतमा नै भएको थियो । पञ्चायतमा धेरैजसो चुनाव चैत–वैशाखमै हुन्थ्यो । भलै ती निर्वाचन खुला र बालिग मताधिकारका आधारमा हुँदैनथे । २०३६ सालको जनमत संग्रह पनि वसन्त–वैशाखमा नै भएको थियो । बालिग मताधिकारका २०३८ र २०४२ का राष्ट्रिय पञ्चायत चुनाव पनि वैशाखमै हुन्थे । चुनावी माहौल चैतबाट सुरु हुन्थ्यो । २०४६ चैतमा प्रजातान्त्रिक आन्दोलन उत्कर्षमा पुग्यो, प्रजातन्त्र बहाली भयो । २०६२–६३ को लोकतान्त्रिक आन्दोलन पनि चैत–वैशाखमा नै भएको हो । 


घटनाक्रमले चैत–वैशाख आक्रोश व्यक्त गर्ने याम भएको देखाउँछ । यो नयाँ सन्देश दिने याम हो । आन्दोलित हुने याम हो । प्रेम र पालुवाको याम हो । हरियाली छाउने याम हो । मान्छेको जीवनमा चार खालको आकांक्षा हुन्छ । धर्म, अर्थ, काम र मोक्ष । यसअनुसार पनि चैत–वैशाखलाई मदनोत्सव पनि भनिन्छ । कामदेव सक्रिय हुने ऋतु हो । आमाहरूको गर्भमा सन्तान बस्ने, बसाउने उत्तम याम पनि हो, यो । आमाको गर्भमा नयाँ सुरुवात हुन्छ भने नेपाल आमाको गर्भमा पनि नयाँ सुरुवात हुनुपर्छ । 

नेपाली समाज, यतिखेर हदै आक्रोशित छ । आक्रोशितभन्दा पनि बढी निराश पो छ कि ? निराशाले कुनै बदलाव ल्याउँदैन । यो घातक छ । आक्रोश र असन्तुष्टि छाउनु भने राम्रो हो । यसले नयाँ सृजनाका लागि संघर्ष गर्न प्रेरित गर्छ । तर, निराश, उदास, हतास मानव–समुदायले आफैँलाई पिर्छ । समाजलाई पछि धकेल्छ । 
जब निरन्तरको आक्रोशको कुनै सुनुवाइ हुँदैन । त्यहाँ दुई कुरा हुन्छ– आत्महत्या र हत्या । अर्थात्, मान्छे कि विद्रोही हुन्छ कि विक्षिप्त । आम नागरिक विद्रोही र विक्षिप्त हुनुभन्दा पहिल्यै विवेकी राज्यले राम्ररी कुरा सुन्छ र सम्बोधन गर्छ । तर, नेपाल राज्य यस्तो कठोर बन्दै गएको छ कि यहाँ गरिबहरुको कुनै आत्मसम्मान र आवाज छैन । 

हर घरघरमा अहिले देश बन्दै बन्दैन भन्ने भावना भयानक छ । यो गम्भीर निराशाको संकेत हो । यो देशका सबैजसो संरचना मक्किसकेको देखिन्छ । देश घर हो भने घर ठडिन चाहिने खाँबा, दलिन, चिर्पट, ढुंगा, माटो, झ्याल, ढोका, छाना सबै कामै नलाग्ने गरी बिग्रेका छन् । बिग्रेका छन् होइन, बिगारिएको छ । घरमा बस्ने, घरको धुरीमा बस्नेहरू निरन्तर घर उधारिरहेका, बेचिरहेका, खोस्रिरहेका छन् । यो सबैभन्दा चिन्ताको विषय हो । घर रक्षक भनेर पठाएकाहरु नै घर भक्षक बनेका छन् ।

आर्थिक, सामाजिक रूपमा पछि पारिएका समुदाय झनै पीडामा छन् । एक त सधैँको अभाव त्यसमाथि ऋण र ब्याजको चपेटाले मानिस मरिरहेका छन् । दाइजो, भोजभतेर, भड्किलो अनुकरण संस्कारले कुलतको रूप लिएको छ, जसले मानिसहरूलाई थप गरिब बनाएको छ । चेतनाको तहमा काम भएको छैन । राजनीति गर्नेहरु समाज बदल्ने भन्दा पनि आफू बदलिन थालेका छन् । पपुलिस्ट नाराले यथास्थिति स्वीकार्छ । यसले त समाजमा अन्धविश्वासीको बाहुल्य छ भन्ने देखेपछि अन्धविश्वासकै बढाइचढाइँ पनि गर्छ । 

देशभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था ध्वस्त पारिएको छ । नेपालमा पढेर, बसेर केही हुन्न, बाहिर जानैपर्छ भन्ने बाध्यता बढेको छ । कसैले यसलाई देखासिकी पनि भन्लान् । तर, शैक्षिक क्यालेन्डरविनाका स्कुल–कलेजमा किन समय खेर फाल्ने ? सुधार्नतिर नलाग्ने अनि बाहिर जान थाले भनेर रुवाबासी गर्नुको अर्थ छैन । 
आम नागरिकले तिरेको कर उनीहरूको शिक्षा र स्वास्थ्यमा खर्च हुनुपर्ने हो । तर, खर्च भइरहेछ, धनीमानी, नेताजी, साहुजी, टाउके शासक–प्रशासकहरूको सेवामा, विलासितामा । रोजगारीका क्षेत्र खुम्चेका छन् । रोजगारी बढाउने कुनै गुन्जायस नै छैन । कमीसन एजेन्ट र ठेकेदारले विकासे धन कब्जामा लिएका छन्, रातारात अकुत सम्पत्तिका मालिक बन्दैछन् ।

महँगी बढेको छ । ऋण थपिएको थपियै छ । यही चाल र ताल हो भने देश टाट पल्टिन अब धेरै कुर्नु पर्दैन । जातीय र लैंगिक हिंसा कम भएको छैन । दलित, महिला, अपांगता भएकाहरूले यो देश मेरो हो, मैले तिरेको कर खाने यी नेताजीहरू मेरा अभिभावक हुन् भनेर सोच्ने, ढुक्क हुने अवस्था छैन ।

सामाजिक सवालमा अब युवाहरू तात्नुपर्छ, सोसल मिडियामा मात्र लेखेर हुँदैन । राजनीतिक व्यवस्थालाई उल्ट्याउने गरी होइन, राज्यका अंग–प्रत्यंगका पात्रहरू, दलहरू, नेताजीहरूलाई जवाफदेही बनाउने अभियान छेडिनुपर्छ । लोकतन्त्रको विकल्प खोज्नेहरुलाई सघाउ पुग्न दिनुहुँदैन । युवाहरुले डा. गोविन्द केसी जसरी सत्याग्रह पनि गर्न सकिन्छ । आमनागरिकले प्रश्न गर्न पाउनुपर्छ । प्रश्न सोधिरहनुपर्छ । काम गर्न भनेर कुर्सीमा बसेका, पुगेका, जान लागेकाहरूसँग मुखमुख लाग्नैपर्छ । कर खानेहरुसँग मुखमुख लाग्नु अपराध होइन । यी प्रश्न सधैँ सोध्नुपर्छ । घर–घरमा, चोक–चोकमा प्रिन्ट गरेर, वाल पेन्टिङ गरेर, कपडामा लेखेर, कागजमा लेखेर टाँस्नुपर्छ ।

हामीले तिरेको कर कहाँ खर्च हुन्छ ? 
शिक्षा र स्वास्थ्य किन ध्वस्त पारेको ? 
निजी शिक्षा र स्वास्थ्य संस्थामा जान बाध्य पार्ने, अब हामी कर तिर्ने कि शुल्क ? 
पढ्न, काम गर्न, बस्न विदेश नै जानुपर्ने गरी देश किन तन्नम बनाएको ? 
गरिबलाई खै सहुलियत ? 
जातीय, लैंगिक अपराध रोक्न खै अग्रसरता ? 
विशिष्टहरूको विलासितामा खै खर्च रोकेको ?  
देशभरका सिंहदरबारहरूमा गरिबका सवाल कहाँ छन् ?

भ्रष्टाचारीहरु फेरि भोट माग्न नआउनू । आउँदा हुने क्षतिको अनुमान गर्नू । १०-२०-३०-४०-५० वर्षदेखि देशको डाडुपन्यु तपाईंको हातमा । अनि देश कसले बिगार्यो ?

हाम्रै करबाट तलब, भत्ता, सुविधा लिने अनि हामी आम नागरिकलाई पाइला पाइलामा हेप्ने ? 
हाम्रो करमा तपाईंहरूले विदेशमा उपचार गराउने पैसाले देशमा कतिवटा स्वास्थ्य संस्था खोल्न, चलाउन सकिन्थ्यो ? 
आफू र आफ्ना सन्तान, नातेदार विदेशमा पढाउने, बसाउने अनि यता सार्वजनिक शिक्षालयलाई पार्टी कार्यालय बनाउने ? 
संविधानमा समाजवादउन्मुख, लोककल्याणकारी राज्य लेख्ने तर व्यवहारमा कहाँ छ लोककल्याण, कहाँ छ समाजवाद ? 
शिक्षा र स्वास्थ्यलाई अपार नाफाको धन्दा बनाउने मुुलुक कसरी समाजवादी हुन्छ ? 
कर तिरेपछि शिक्षा र स्वास्थ्य निःशुल्क र सुलभ हुनुपर्छ । शिक्षा र स्वास्थ्यलाई किनबेचको विषय बनाउने देश, कस्तो देश ? 

प्रधानमन्त्री, मन्त्री, सांसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू लगायत पदमा बसेकाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको खै ?

प्रधानमन्त्री मातहतको सम्पत्ति शुद्धीकरण विभागले प्रधानमन्त्री र उनकै मातहत भइरहेको अपार सम्पत्ति आर्जन कसरी छानबिन गर्छ ? कि यो खारेज गर कि स्वायत्त बनाऊ ।

सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर । हैन भने अख्तियार आयोग खारेज गर । कर तिरेर अख्तियार पाल्ने किन ?
फर्जी कागज बनाउने, मिलाउने, पत्याउने विवादित न्यायाधीशहरूलाई निलम्बन गर, महाभियोग लगाऊ । 
सरकारी शिक्षक र प्राध्यापकलाई कि दलको सदस्यता त्याग्न कि जागिर त्याग्न भन । यस्तो कानुन बनाऊ । 
सरकारी शिक्षकको तलब र मर्यादा बढाऊ । योग्य र क्षमतावान् व्यक्ति शिक्षक हुने वातावरण बनाऊ ।

उद्योगधन्दा खै, रोजगारीका क्षेत्र खै ? उद्यमविना देश कसरी बन्छ ? साना उद्यमीलाई खै प्रोत्साहन ? प्रेमप्रसाद आचार्यका माग सुन । 
कर नतिर्ने, छल्ने, कालोबजारी गर्ने ठूला साहु–महाजन, कमीसनखोर र ठेकेदारलाई कहिले हुन्छ कारबाही ?
भ्युटावर र कंक्रिट संरचना मात्र बनाउने कि पुस्तकालय, वाचनालय, बगैँचा, पार्क, खेल मैदान पनि बनाउने ? 


 


Author

थप समाचार
x