शिक्षा

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धा : नविनता र युवा शक्तिको नयाँ उचाइ

इकागज |
फागुन ७, २०८० सोमबार २०:१७ बजे

काठमाडौँ- द हल्ट प्राइज अयाट आइ.ओ. इ पुलचोक क्याम्पसले गत शनिबार समापन कार्यक्रम गर्यो । कार्यक्रम द इन्ट्रान्स क्याफेमा भएको थियो । कार्यक्रममा १० फाइनलिस्ट समूहहरूले हल्ट प्राइजको थिममा आधारित उद्यमशील विचार पिच गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्नका लागि प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमको संचालक रियाज नेपालको छोटो-मीठो मन्तव्यबाट भएको थियो । सबैलाई स्वागत गर्दै उनले यस प्रत्याशित कार्यक्रमको सुरुवात गरिन् । क्याम्पस निर्देशक आदित्य पाण्डेले सबै टोलीलाई शुभकामना दिँदै कार्यक्रमको औपचारिक सुरुवात गरे । स्टार्टअप नियन्त्रक रुबिका बस्यालले प्रतियोगिताका नियम तथा न्यायाधीशहरूको मूल्याङ्कन मापदण्डबारे विस्तृत जानकारी दिइन् ।
 
कार्यक्रमलाई भव्य पार्न विविध क्षेत्रबाट निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक प्यानलमा नाम्चेका को-फाउन्डर वरुन पाण्डे, ग्लोकल प्रा. लि.का अध्यक्ष आशिश ठाकुर, मिस नेपाल २०२२ डा. सरिशा श्रेष्ठ र इनग्रेल्सका संस्थापक निर्देश द्वा थिए । सबैको संक्षिप्त परिचय र स्वागत पछि सहभागी टोलीहरूले आ-आफ्नो नविन व्यावसायिक विचार प्रस्तुत गरे ।


सर्वप्रथम टिम भिस्टाले मोटरसाइकल दुर्घटना पत्ता लगाउने हेल्मेटबारे उल्था गरे । लगत्तै इनर भिजनले कृषकहरूलाई रोपाइँ देखि व्यापार सम्म सहज वातावरण सिर्जना गर्ने एप बारे बताए । त्यस्तै योङ्कोले स्मार्ट पारकिङ्, टुरिचले पर्यटकीय सहजता, उल्काले विद्युतीय साघन चार्ज गर्ने प्रणाली, ह्वकआइको सिसिटिभी निगरानी प्रणालीमा परिवर्तन, क्वान्ट-एक्सको शैवालबाट जुत्ताको शोल निर्माण, दृश्यले दृष्टिविहीनहरूलाई वस्तु पत्ता लगाउने चस्मा, बनाना फाइबरले केराको फाइबरबाट विभिन्न वातावरण मैत्री वस्तु र द स्वेएरले प्लास्टिकबाट इन्धन निर्माण गर्ने प्रविधि प्रस्तुत गरे ।

हरेक समूहका लागि प्रस्तुतिलाई चार मिनेट र निर्णायक मण्डलसङ्ग प्रश्न उत्तर सत्रलाई अर्को चार मिनेटको समय थियो ।  प्रविधि र उद्यमशीलतालाई नयाँ रूप दिँदै हरेक टोलीले समाजको हित हुने व्यावसायिक विचार प्रस्तुत गरे । निर्देश द्वाले समग्रमा सहभागीहरूको कमीकमजोरी र कसरी अझै राम्रो प्रस्तुति गर्न सकिन्छ भनेर बताए । त्यस लगत्तै क्याम्पस निर्देशक आदित्य पाण्डेले दृश्यलाई विजेता घोषणा गरे । टिम दृश्य द हल्ट प्राइजको अन्तर्राष्ट्रिय प्रतियोगितालाई छनोट भयो । त्यस्तै  ह्वकआइ र योङ्को दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए । निर्णायक मण्डललाई मायाको चिनो दिई बिदाइ गरियो । यस सँगै २०२४ का  लागि द हल्ट प्राइज अयाट आइ.ओ. इ पुलचोक क्याम्पसको यात्रा यही समाप्त भयो ।

द हल्ट प्राइज अयाट आइ.ओ. इ पुलचोक क्याम्पसको प्रत्येक कार्यक्रमलाई सफल पार्न प्रायोजकहरूको अपार सहयोग रहेको छ । आयोजक साझेदारका रूपमा टास्केड, राष्ट्रिय वाणिज्य बैंक, फोर्कर नेपाल, आइडिपि, मिलान्तरा, युनिक वुड्न हाँडीक्राफ्ट र प्रोटोजोआ होस्ट रहेका छन् ।
 


Author

थप समाचार
x