शिक्षा

सेनाले फड्के बनाइदिएपछि मनाङका विद्यार्थीलाई विद्यालय आउजाउमा सहज

इकागज |
भदौ २८, २०७८ सोमबार २१:५५ बजे

चामे- मनाङमा बाढीपहिराले क्षति पु¥याउँदा ठप्प भएको पठनपाठन आइतबारदेखि खुला भएको छ । बाढी पहिरोले नदी संरचना तथा विद्यालय भवनमा क्षति पुर्याएपछि बन्द भएको पठनपाठन आइतबारबाट खुला भएको शिक्षा विकास तथा समन्वय इकाइ मनाङले जनाएको छ । 

१ असारमा आएको बाढी पहिरोले नदीका संरचना बगाउँदा रोकिएको पढाइ पुनः सञ्चालन भएको हो । मर्स्र्याङ्दी नदीमा १ असार र त्यसपछि आएको बाढी पहिराले नदी र विभिन्न विद्यालयका भौतिक संरचना बगाएको थियो ।


सदरमुकाम चामेको लोकप्रिय माध्यमिक विद्यालयको भवनको एक चौथाइ भाग पनि बाढीले बगाएको थियो । विद्यालय भवन पुनर्निर्माण गरिएसँगै आइतबारदेखि पढाइ सुरु भएको छ । यस्तै नेपाली सेनाले विद्यालयसम्म आउजाउ गर्नका लागि फड्के बनाएपछि विद्यार्थीलाई विद्यालय आउन जान सहज भएको प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए ।

‘विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्ता थियो । सेनाको श्रमदानमा फड्के र विद्यालयको नदीपट्टिको भागमा तारजाली लगाएर पर्खाल बनाइएपछि पठनपाठन सुरु गरेका छौं,’ प्रधानाध्यापक कोइरालाले भने । कोभिड संक्रमण महामारी कम हुँदै भएपछि मनाङका विद्यालय खुल्ने क्रममा छन् । 


Author

थप समाचार
x