स्थानीय तह निर्वाचन २०७९

पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत

बाबुराम भण्डारी |
जेठ ८, २०७९ आइतबार १७:२३ बजे

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्वाचित भएका छन् । लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका उनले २० हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । किशोरले १६ हजार ५९ मत प्राप्त गर्दा नेकपा एमालेकी मन्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याइन् ।


पिउने पानीको चरम अभाव खेप्दै आएको धरानमा पानीकै मुद्दा बोकेर आधा दशकयता एक्लो अभियानमा लागेका हर्कराजलाई धरानले त्यही अभियानलाई विश्वास गर्दै अमूल्य मत दिएर जिताएका छन् । 

उपमेयरमा भने नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका अइन्द्र विक्रम बेधा निर्वाचित भए । उनले २० हजार ५१० मत प्राप्त गरेका छन् । बेघाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेका हुन् । 

उपमेयरमा पनि लौरो चुनाव चिन्ह नै लिएर स्वतन्त्र उम्मेदवारी दिएका दत्त कुमार लिम्बु भने तेस्रो मत प्राप्त गरेका छन् । लिम्बुले ४ हजार १२९ मत प्राप्त गरेका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x