स्थानीय तह निर्वाचन २०७९

‘लौरो’ चिह्नको भविष्य अब के होला ?

इकागज |
जेठ ९, २०७९ सोमबार १९:३० बजे

काठमाडौं– स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार स्थापित दलहरूकै मत परिणाम राम्रो छ । तर स्थापित दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीले देशभरै एक किसिमको तरंग ल्याएको छ । स्वतन्त्रको मत परिणामसँगै स्वतन्त्रले पाएको  चुनाव चिह्न ‘लौरो’ को चर्चा पनि उत्तिकै छ ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएको चुनाव चिह्न लाैराे लोकप्रिय भएसँगै अब यो चिह्नको भविष्य के हुन्छ ? भन्ने कौतुहल आम मानिसमा देखिन्छ । लौरो चिह्न अर्को निर्वाचनसम्म कुनै नयाँ दलले लिन पाउँछ वा पाउँदैन ? वा फेरि स्वतन्त्र उम्मेदवारकै हुन्छ/हुँदैन ? स्वतन्त्र उम्मेदवारले आफैँ दल दर्ता गर्न गए, उसले आफ्नो चिह्न पाउँछ /पाउँदैन भन्ने प्रश्नहरूमा मानिसहरूको चासो देखिएको छ ।


यस पटकको स्थानीय निर्वाचनमा आयोगले स्वतन्त्र उम्मेदवारका लागि ४० वटा चुनाव चिह्न राखेको थियो । जसमध्ये एउटा चिह्न लौरो थियो । आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने दिन काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिह्न दिएको थियो । 

उनले चिह्न पाए लगत्तै सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै लौरो चुनाव चिह्न पाएको सार्वजनिक गरेका थिए । त्यस पश्चात लौरोको चर्चा चुलिएको थियो । उनले आफ्नो चिह्न ‘बुढाबुढीलाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ भन्दै प्रचार गरेका थिए ।

उनीसँगै थुप्रै पालिकाका प्रमुखदेखि वडा सदस्यका उम्मेदवारलाई आयोगले लौरो चिह्न दिइएको थियो । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार अटेरी अभियानका गनेस पौडेललाई पनि आयोगले सुरुमा लौरो चिह्न दिएर पछि अर्कै चिह्न दिएपछि पौडेल पक्षले धर्ना दिएका थिए । पछि आयोगले उनलाई पुरानै चिह्न ( लौरो ) कायम गरिदियो । 

लौरो चिह्नबाट उम्मेदवार बनेका थुप्रै उम्मेदवारले उपमहानगरदेखि वडासम्म जित हासिल गरिसकेका छन् भने महानगरमा बालेन शाह ठूलो मतान्तरले अग्रस्थानमा छन् । आइतबार धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई हराउँदै मेयर पद जिते । 

साम्पाङभन्दा अगावै गोकर्णेश्वर–४ मा जयराम महतले लौरो चिह्नबाट वडाध्यक्ष पद जितेका थिए । यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ मा पनि नेत्रबहादुर गिरीले लौरो चिह्नबाटै वडाध्यक्ष जितेका छन् । 

लोकप्रिय बनेको चिह्न लौरो आफ्नो बनाउन दलहरू आयोगमा जान सक्ने सम्भावना देखिन्छ । स्वतन्त्र उम्मेदवारले पनि कुनै दल दर्ता गरेर पार्टीकाे चुनाव चिह्न लाैराे कायम गरिदिन  निवेदन  दिन सक्छन् ।

यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच लोकप्रिय बनेको चुनाव चिह्न ‘लौरो’ राजनीतिक दलको चिह्न जस्तो नहुने स्वतन्त्र रहने निर्वाचन आयोगका राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । स्वतन्त्र रहेको चिह्न कुनै दलले परिवर्तन गर्न चाहेमा वा लिन चाहेमा लिन सक्ने उनको भनाइ छ । ‘स्वतन्त्रको चिह्न दलको जस्तो उम्मेदवारकै भइरहने हुँदैन, स्वतन्त्र हुन्छ,’ उपन्यायधिवक्ता वाग्लेले भने, ‘कुनै दलले रीत पुर्‍याएर आए छलफल गरेर आयोगले चिह्न दिन सक्छ ।’​

स्वतन्त्रको चिह्न आयोगले आफैँ बनाएकाले अर्को निर्वाचनमा यहि चिह्न भइरहन्छ भने नहुन सक्छ । लौरो चिह्न पनि यसपटकको निर्वाचनमा सबैतिर चिनिने चिह्न भएकाले स्वतन्त्रको सूचीमा राखेको उपन्यायधिवक्ता वाग्लेले बताए । ‘स्वतन्त्र समूहको चुनाव चिह्न हामीले छनौट गरेको चिह्न हो,’ उनी भन्छन्, ‘लौरो हिमाल पहाड र तराईमा सबैले चिन्ने प्रकृतिको चिह्न भएकाले राखिएकाे हो । लौरो यस अघिको निर्वाचनमा म निर्वाचन अधिकृत भएर हिँड्दा यो ठिक हुने लागेर राखेको हो ।’​

उपन्यायधिवक्ता वाग्लेका अनुसार स्वतन्त्र उम्मेदवार नै दल गरेर आएमा पनि उनीहरूले पनि पाउने सम्भावना रहन्छ । ‘जसले पनि आफ्नै समूह बनाएर आएमा  उहाँहरूले पाउने सम्भावना उत्तिकै छ,’ उनले भने, ‘दल खोल्नलाई सबै स्वतन्त्र छन् ।’ निर्वाचन सकिए लगत्तै दल दर्ता गर्ने प्रक्रिया आयोगले खुल्ला राख्नेछ । 


Author

थप समाचार
x