ऊर्जा

विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ

विद्युत् चुहावट १३.४६ प्रतिशत मात्रै

इकागज |
साउन २५, २०८० बिहीबार १८:२५ बजे

काठमाडौँँ- कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्थाबाट गुज्रेको विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भए यता प्राधिकरण लगातार नाफामा गएको हो ।


गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको कार्यकारी निर्देशक घिसिङले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

प्राधिकरणमा दोस्रोपटक प्रवेश गरेको आजैका दिन दुई वर्ष पुगेको र यो अवधिमा हासिल गरेका उपलब्धि तथा चुनौतीहरूबारे जानकारी दिन घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।'

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको जनाएको छ । प्राधिकरणले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ ।

पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्ति

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको जनाएको छ । प्राधिकरणले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ ।

पत्रकार मित्रहरू, 
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताका साथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको थिएँ । 
प्राधिकरणको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरित्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडी बढाइएको छ । 
संस्थाको नाफा बढाउँदै लगेर मुलुककै सबल, अनुशासित तथा सम्मानित संस्था बनाउने, विद्युत् उत्पादन बढाउने र चुहावट घटाउने, अधिकतम ग्राहकसम्म पहुँच विस्तार गर्ने, वित्तीय खर्च घटाउने,  प्रसारण तथा वितरण लाइन तथा सबस्टेसन विस्तार र सुधार गर्ने, प्रशासन सुधार्ने र ग्राहकलाई नियमित, गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उत्पादन गर्न अहोरात्र क्रियाशील छौं । २ वर्ष अघि करिब 89 प्रतिशत विद्युतीकरण भएकोमा अहिले ९५ प्रतिशत पुगेको छ । 
समय समय विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार संरचनाहरू सुधार र सुदृढीकरण अगाडि बढाइएको छ । संघीय राजधानी काठमाडौँं उपत्यका सहित देशका प्रमुख ११ सहरहरूको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २२० र १३२ केभीका प्रसारण लाइन तथा सबस्टेसनहरूको निर्माण अगाडि बढाइएको छ । सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउन डिजिटल एनइए कार्यक्रम अन्तर्गत प्रसारण तथा वितरणतर्फका सबस्टेसनहरूलाई स्वचालित बनाउन सुरु गरिएको छ । 
आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत् प्रसारण र वितरणतर्फका केही आयोजनाहरूको ठेक्‍का सम्झौता रद्द गरी नयाँ ठेक्‍का लगाइएको छ । निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ । 

यस अवधिमा हासिल भएका मुख्य उपलब्धिहरू: 

वित्तीय तथा प्रशासनिक सुधार 
●     प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब 81 अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब 1 खर्ब 18 अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर 36 अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।  
•    प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ । साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन 2041 बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको छ । 
•    संस्थाको क्रेडिट रेटिङ ICRA af6  AA+  प्राप्त गर्न सफल भएको ।
•    उपयुक्त स्थानम उपयुक्त व्यक्ति भन्न अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महशुल बक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको छ । 
•    बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाइएको छ । 
•    विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब रु. ४८ अर्ब बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको । साथै सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ ।

वितरण तथा ग्राहक 
आ.व.२०७७।७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित गरिएको छ । 
●     करिब दुई वर्ष अघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पाएकोमा अहिले ९५ प्रतिशत पुगेको छ । मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सारभूतरुपमा पूर्ण विद्युतीकरण भएका छन् । कोशी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ । ७ सय ५३ स्थानीय तहहरूमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ सारभूतरुपमा पूर्ण विद्युतीकरण, २ सय २७ वटा स्थानीय तहहरूका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहहरूका अधिकांश स्थानहरूमा सोलार, साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएका छन् । आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी कामहरू भइरहेको छ । 
●     प्रति व्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको छ 
●     विगत २ वर्षमा उद्योगहरूको ८०० एमभिए विद्युत् लोड स्वीकृत गरिएको छ ।
●     काठमाडौँं उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न सुरु गरिएको कार्य सम्बन्धित निकायहरूसँगको समन्वयमा समस्या भएकोले केही ढिलाइ भए तापनि कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।
•    ग्राहकहरूलाई सिङ्गल फेज कनेक्सन ३ दिनमा र ३ फेज मिटर १० दिनमा GIS गर्नु पर्ने वाहेक) उपलब्ध गराउने व्यवस्था गरिएको । थ्रि फेज कनेक्सनका लागि Online आवेदन गर्न सकीने व्यवस्था गरीएको । थ्रि फेज ग्राहकहरूलाई स्मार्ट मीटर जडान कार्यक्रमलाई तीव्रता दिइएको छ ।
•    विद्युत् महशुल भुक्तानी लगायत ग्राहकहरूलाई विविध जानकारी लगायत सेवा छिटो छरितो उपलब्ध गराउन NEA App  प्रयोगमा ल्याइएको ।
•     
•    ५० के.भि.ए. सम्मको लोड माग ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराईने प्रावधानलाई संशोधन गरी १०० के.भि.ए.सम्मको लोड ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराईने प्रावधान राखिएको । 
•    दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायीक खानेपानी र सामुदायीक सिचाईको ग्राहकलाई २०० के.भि.ए. सम्म विद्युत् शक्ति प्राधिकरणको ट्रान्सफरमरबाट उपलब्ध गराउन सकिने व्यवस्था गरीएको । 
•    चार्जीङ्ग स्टेशन जडान सम्वन्धी स्पष्ट व्यवस्था गरीएको र प्रवर्द्धनका लागि चार्जीङ्ग स्टेशन रहने स्थान सम्म विद्युतीय लाईन ने.वि.प्रा.ले निःशुल्क निर्माण गरीदिने र २०० के.भि.ए. सम्मको विद्युत् शक्ति ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराउन सकीने व्यवस्था गरिएको ।
•    करिब २२ लाख ग्राहकलाई नि:शुल्क विद्युत् ऊर्जा, सिंचाइ, खानेपानी, धार्मिक स्थल, चार्जिङ्ग स्टेशन लगायत गरी प्राधिकरणले वार्षिक करिब ४ अर्ब बराबारको महशुलमा अनुदान उपलब्ध गराएको छ ।
•    विपन्न परिवारहरूलाई करिब 40,000 मिटर नि:शुल्क उपलब्ध गराएको छ ।
•    विद्युत् आपूर्तिमा रहेको ग्राहकहरूको गुनासो सम्बोधन गर्न हरेक प्रदेशमा कल सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । 
•    स्मार्ट मिटर जडान कार्य रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा सफतापूर्वक सम्पन्न भएको छ । आगामी दिनमा देशैभरी स्मार्ट मिटर जडान गर्ने कार्य अगाडि बढाइएको छ ।  

सडक बत्ती र चार्जिङ्ग स्टेशन 
१)    शहर उज्यालो कार्यक्रम अन्तर्गत ललितपुर, पोखरा, भरतपुर लगायत देशका करिब 8 वटा नगरपालिकामा 11500 वटा सडक बत्ति र 67 वटा हाइमास्ट जडान सम्पन्न भएको छ भने काठमाडौँ लगायत २७ वटा पालिकाहरूमा सडक बत्ति जडान कार्य अगाडि बढाइएको छ । 
२)    देशमा रहेको विभिन्न सम्पदा सूचीमा रहेका मन्दिर गुम्बा आदिमा लाइटिङ्ग गर्ने कार्य अन्तर्गत बौद्ध, स्वयम्भु र पशुपतिनाथमा Architectural Lighting डिजाइन गरी कार्यान्वयनको चरणमा रहेको छ ।
३)    विद्युत् खपत बढाउन विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएको छ भने थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने प्राधिकरणको नीति अनुरुप देशको विभिन्न ठाउँमा 100 वटा भन्दा बढी चार्जिङ स्टेशन जडान कार्य भैसकेहेको छ ।

हरित हाइड्रोजन कार्यक्रम
हरित हाइड्रोजन कार्यक्रम सम्बन्धी Global Green Growth Institute (GGGI), कोरिया र काठमाडौँँ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरि कार्यान्वयनको चरणमा रहेको छ । प्राधिकरणले नमूना परियोजनाको रुपमा एक हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । 
 
प्रसारणतर्फ 
आन्तरिक:
१)    हाल 5742 सर्किट कि.मी. को प्रसारण लाइन र 8867 एमभिए क्षमताका सवस्टेशनहरू सञ्चालनमा रहेका छन् । 
२)    दुई वर्षमा ४००/220/132 गरी करिब 9 सय सर्किट कि.मी. प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भने 9300 सर्किट कि.मि. निर्माणाधीन छ । 
३)    करिब 25 सय एम.भि.ए. क्षमताका 17 वटा सवस्टेशन निर्माण सम्पन्न भएका छन् भने 10500 एम.भि.ए. क्षमताका 54 वटा सवस्टेशन निर्माणाधीन छ । 
४)    सन् 2050 सम्मको विद्युत् मागलाई धान्ने गरी काठमाडौँ लगायत देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सवस्टेशन संरचनाहरूको गुरुयोजना तयार पारिएको छ । सोही अनुसार स्रोत जुटाइ क्रमिक रुपले निर्माण अगाडि बढाइने छ ।
५)    मधेश क्षेत्रमा हुलाकी राजमार्ग आसपासमा बढ्दो शहरीकरण र औद्योगिकिकरणको लागि आवश्यक विद्युत् माग आपूर्ति गर्न हुलाकी राजमार्ग आसपासबाट 400/220/132 के.भी. पूर्वपश्चिम प्रसारण लाइन निर्माण गर्ने कार्य प्रारम्भ गरिएको छ । 
६)    बुटवल-लमही-छिन्चु, दोदोधारा- दैची ( अत्तरीया) 400 के.भी. प्रसारण लाइन खण्डको विस्तृत अध्ययन गरी निर्माण चरणमा क्रमिकरुपमा अगाडि बढाइएको छ । 
७)    मध्यपहाडी राजमार्ग हुँदै जाने प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्न हुने चरणमा रहेको छ । अरुण हव-तिङला-दुधकोशी-ढल्केबर र अरुणहव-इनरुवा-अनारमनी 400 के.भी.प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्न भै वित्तिय व्यवस्थापनको चरणमा रहेको छ । 
८)    भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको लागि स्वस्टेशन क्षमता थप गर्ने प्रसारण लाइन विस्तार ग्यापासिटर बैंक थप र वितरण संरचना सुधार एवम् विस्तार कार्य व्यापकरुपमा अगाडि बढाइएको छ । 

अन्तर्देशीय:
९)    बुटवल-गोरखपुर 400 के.भी. प्रसारण लाइनको निर्माण शुरु भएको छ ।
१०)    कुशाह-कटैया दोस्रो सर्किट 132 के.भी. परवानीपुर-रक्सौल दोस्रो सर्किट 132 के.भी. र मैनहिया-सम्पतिया 132 के.भी. डवल सर्किट 132 के.भी. प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । 
११)    इनरुवा-पूर्णिया र लम्की-वरेली 400 के.भी. लाइन, नेपालगञ्ज-नानपार 132 के.भी. र अत्तिरया (दैची)-टनकपुर 220 के.भी. प्रसारण लाइनहरूको निर्माणको लागि प्रकृया अगाडि बढाइएको छ ।
१२)    चीन जोडने रातमाटे-रसुवागडी-केरुङ 400 के.भी. प्रसारण लाइनको अध्ययन सम्पन्न भएको छ ।

विद्युत व्यापार
बाह्य:
•    नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भैरहेको छ । 
•    भारत निर्यातको लागि करिब ६०० मेगावाट थप आयोजनाहरू भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको छ । 
•    विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी. प्रसारण लाइनहरूबाट विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत् बिक्री गर्न पि.टि.सि. इन्डिया, विहार स्टेट पावर कर्पोरेशन र प्राधिकरण बीच त्रिपक्षीय सहमति भएको छ । 
•    भारतको हरियाना राज्यलाई विद्युत् सप्लाई गर्ने गरी भारतीय विद्युत् व्यापार कम्पनी एन.भि.भि.एन सँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत् बिक्री सम्झौता सम्पन्न भएको छ । सो को समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको छ । 
•    बंगलादेशमा विद्युत् निर्यातको लागि भारतको एन.भि.भि.एन., बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र प्राधिकरण बीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको छ । 
आन्तरिक:
•    हालसम्म प्रणालीको जडित क्षमता कुल २8२२ मेगावाट पुगेको छ भने आ.व.२०७८।७९ र २०७९ ।80 ( आव 2080/81 श्रावण 24 गतेसम्म) मा क्रमश: ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा 1383.37 मेगावाटका जलविद्युत् तथा सौर्य आयोजनाहरूबाट उत्पादन सुरु भएको छ ।
•    हालसम्म करिब 8052 मेगावाट विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिब 1774 मेगावाटको विद्युत् खरिद बिक्री सम्पन्न भएको छ । यसको अलावा प्राधिकरणले करिब 2290 मेगावाटको मस्यौदा विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ । कुल 2168 मेगावाट विद्युत् खरिद बिक्री सम्झौताको मस्यौदा तयारी गर्ने प्रकृयामा रहेका छन् ।
•    सौर्य विद्युतको आधार मूल्य पाँच रुपैयाँ चौरान्नब्बे पैसा तोकी पहिलो पल्ट बोलपत्र मार्फत प्रतिस्पर्धा गरी करिब १०० मेगावाटको सौर्य विद्युतको खरिद सम्झौता गर्ने चरणमा रहेको छ । 

उत्पादन: 
●     १०६० मेगावाट जडित क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीका लागि वित्तीय स्रोत जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलमा कार्यालय तथा कर्मचारी अवासगृह निर्माण अन्तिम चरणमा पुगेको छ । २ किलोमिटर सुरुङसहित करिब २४ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ । आयोजनाको निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनौट अन्तिम चरणमा पुगेको छ । 
●     ४९० मेगावाट जडित क्षमताको अरुण–४ जलविद्युत् आयोजना प्राधिकरण र सतलज जलविद्युत् निगम, भारतबीच साझेदारीमा निर्माण गर्न समझदारीम पत्रमा हस्ताक्षर गरिएको छ । आयोजनालाई अगाडि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ । 
•    चैनपुर सेती 210 मेगावाटको आयोजना निर्माण अगाडि बढाउन जग्गा अधिग्रहण लगायतका कार्यहरू भैरहेका छन् ।
●     प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको कम्पनी अगुवाइमा निर्माणाधीन २७० मेगावाटका ४ जलविद्युत् आयोजनाहरूको निर्माण अन्तिम चरणमा पुगेको छ । 
●     ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ भने लगानीका लागि दातृ निकाय एसियाली विकास बैंक लगायतसँग आवश्यक प्रकृया अगाडि बढाइएको छ ।
●     ९९ मेगावाटको तामाकोशी पाँचौ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण कार्य सुरु गर्न निर्माण व्यवसायी छनोटका लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ । साथै ६० मेगावाट मोदी जलविद्युत् आयोजनाको बोलपत्र आव्हान गरि निर्माण प्रकृया अगाडि बढाइएको छ । 
•    उत्तरगंगा, आँधीखोला लगायत सुनकोशी 3 तथा केही पम्प स्टोरेज जलविद्युत् आयोजनाहरूको अध्ययन सुरु गरेको छ ।
आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छन् । आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो भने उत्पादित विद्युतको वजार व्यवस्थापन दोश्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ । चुनौतीहरूको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हर सम्भव प्रयास केन्द्रित गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु । 

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण

२०८०/०४/२५
 


Author

थप समाचार
x