ऊर्जा

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

इकागज |
असोज १८, २०८० बिहीबार १९:२ बजे

फाइल तस्बिर

काठमाडौँ- अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरूबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरूलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको हकप्रद शेयर निस्कासन गरिरहेको छ ।


कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो शेयर अनुपातमा हकप्रद शेयरबापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ । मंगलबारसम्ममा सर्वसाधारण शेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए ।

गौतमले भने, ‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, शेयर भर्ने स्थानहरूमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रूपमै रकम सङ्कलन हुने देखिएको छ ।’ हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ । 

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयरबापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । 

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । 


Author

थप समाचार
x