उद्यम

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

इकागज |
चैत ३०, २०७९ बिहीबार १७:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थपए ।

पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । 


महासंघको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कूल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गरे साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गरे । साथै आठ मत बदर भए । 

जिल्ला नगरतर्फ कूल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरे । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भएको थियो । 

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।


Author

थप समाचार
x