वातावरण

बन्चरेडाँडा : फोहोरको लेदो कोल्पु खोलामा, फेरि आन्दोलन गर्ने तयारीमा प्रभावित क्षेत्रका बासिन्दा

स्थानीय भन्छन्, सहमतिअनुसार काम भएन, महानगर भन्छः सबै माग पूरा भइसक्यो

अतिन आचार्य |
फागुन १७, २०७९ बुधबार १३:४२ बजे

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडामा राखिएको फोहोरबाट निस्कने लेदो फोहोर खोलामा फाल्न थालिएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको महानगरले  पछिल्लो समय फोहोरबाट निस्केको लेदो ट्याङ्की खोलेर सिधैँ कोल्पुखोलामा बगाउन थालेको हो । 

काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरे डाँडा र सिसडोलमा लैजाने गरिएको छ । काठमाडौँ महानगरले व्यवस्थापन फोहोर व्यवस्थापनको जिम्मा लिएको छ ।


नयाँ संरचना बनेपछि बञ्चरेडाँडामा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ । दुई वडा ड्याम बनाएर उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको छ । महानगरले फोहोरबाट निस्केको लिच्चड ड्याममा भरिएपछि खोलामा फाल्न फाल्न थालेको छ ।

स्थानीय वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर गर्नेगरी फोहोर फाल्न नपाइने व्यवस्था छ । वातावरणलाई प्रदूषण बनाउन नपाइने कानुनी व्यवस्था रहेको छ । महानगरले बञ्चरेडाँडामा राखिएको फोहोरबाट निस्किएको लेदो खोलामा छोड्ने गरेको स्थानीय मानबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, बेलकोटगढी, धादिङको धुनिबेसी हुँदै त्रिशूली नदीमा मिसिने कोल्पुखोलामा वर्षौंदेखि लेदो फालिने गरेको छ ।

महानगरले स्थानीय बासिन्दा र शहरी विकास मन्त्रालयसँग समन्वय गरी सिसडोल बञ्चरे क्षेत्रमा उपत्यकाको फोहोर फाल्दै आएको छ । फोहोरबाट निस्कने लेदो वैज्ञानिक रूपमा प्रशोधनसमेत नगरी सिधैँ कोल्पुखोलामा फाल्दा नुवाकोट र धादिङका स्थानीयलाई प्रत्यक्ष असर गर्ने गरेको छ ।

पशुचौपायाले खाने, खेतीबाली र स्थानीय बासिन्दाले समेत दैनिक प्रयोग गर्ने खोलाको पानीमा महानगरले दादागिरी देखाएर लेदो फाल्ने गरेको तामाङ्ले बताए ।

फोहोरबाट निस्केको लेदो दैनिक जसो खोलामा फाल्न थालिएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

‘फोहोरबाट निस्केको लिच्चड रातीको समयमा खोलामा मिसाउने गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ फोहोर पानी व्यवस्थापन गर्ने ठाउँ छैन । पानी भरिएपछि उनीहरूले मानिस नभएको मौका पारेर दिउँसो र रातको समयमा खोलामा झार्ने गरेका छन् ।‘

फोहोर व्यवस्थापन गर्दा लिच्चडलाई व्यवस्थापन गर्ने भनिए पनि महानगर गर्न नसकेको अध्यक्ष तामाङको भनाइ छ । ‘लिखित रूपमा फोहोरबाट निस्केको पानी र लिच्चडको व्यवस्थान गर्नुपर्‍यो काठमाडौँ महानगरसँग जवाफ माग्ने तयारी गरिरहेको छु,’ उनी भन्छन् ।

यसअघि महानगरपालिकाले स्थानीयसँग गरेको सहमति पूरा गरिसकेको छैन । स्थानीयले महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न नदिएपछि विभिन्न माग गरेर अवरोध गरेका थिए ।

महानगरपालिकाले आंशिक माग मात्र पूरा गरेको तामाङले बताए । उनी भन्छन्,’  माग पूरा नगरेकाले पुनः आन्दोलन गर्ने तयारीमा छौँ । तत्कालै माग पूरा नगरे के गर्ने भनेर सल्लाह गरिरहेका छौँ ।‘

फोहोरका विषयमा धादिङ र नुवाकोटका संघीय, प्रदेश सांसद तथा स्थानीय तहका प्रतिनिधिसँग बसेर छलफल गर्ने तयारी भइरहेको तामाङले जानकारी दिए । दुवैतर्फका स्थानीयलाई राखेर सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रम गर्ने उनले बताए ।

महानगरपालिकाले यसअघि स्थानीयसँग गरेको कुनै पनि सहमति पालना नगरेको तामाङले गुनासो गरे । ‘मेयर बालेन शाहले गरेको अधिकांश माग तथा सहमति पूरा भएको छैन,’ उनले अगाडि थपे,’ मेयरले आफ्नै कार्यकक्षमा राखेर गरेको सहमति पूरा गरेनन् । बाहिर बोलेको झन के पूरा गर्लान र ?’

महानगरले फोहोर रातको समयमा फोहोर ढुवानी गर्ने, सडकमा बत्ती राख्ने, फोहोरको दुर्गन्ध बाहिर जान नदिने र फोहोरको लेदो खोला तथा जमिनमा मिसाउन नदिने सहमति गरेको थियो ।

‘महानगरले स्थानीयसँग गरेको सहमति कुनै पनि पालना गरेको छैन,’ उनले भने,’ नुवाकोट र धादिङको केही वडालाई दिनुपर्ने पैसा पनि दिएको छैन । ६ करोड दिनुपर्नेमा किस्ता-किस्तामा पैसा दिने गरेको छ ।‘

फोहोरको लेदो टयांकीमा भरिएपछि बग्ने गरेको काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘मुख्यगरी फोहोर राख्ने ठाउँ २ वटा बनाइएको छ,’ उनले भने,’ एउटाबाट भरिएपछि अर्कोमा सार्दा आफैँ फोहोर पानी बगेको हुन सक्छ । महानगरले जानेर फोहोर पानी बगाएको छैन ।‘

फोहोर प्रभावित क्षेत्रका बासिन्दाको अधिकांश माग पूरा गरिसकेको प्रवक्ता मानन्धरले दाबी गरे । महानगरले गरेको विकासले सिसडोलको स्वरूप परिवर्तन भइसकेको उको दाबी छ ।

‘सडक बत्ती पनि जडान गरिएको छ । सडक बनाएका छौँ । समय-समयमा महानगरले त्यस क्षेत्रको अनुगमन गरिरहेको छ,’ उनले सुनाए,’ फोहोर भएकाले गन्हाउँछ । फोहोरको दुर्गन्ध फैलिन्छ त्यसलाई न्यूनीकरण गर्ने प्रयासमा महानगर रहेको छ ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x