वातावरण

बागलुङमा बाढीपहिराे : डेढ दशकमा ७५ को मृत्यु, सोह्र जना अझै बेपत्ता

इकागज |
बैशाख ९, २०८० शनिबार १४:२१ बजे

फाइल तस्बिर

ढोरपाटन- बागलुङमा हरेक वर्ष बाढीपहिराेमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिराेले सयौँ क्षेत्रफल खेती योग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

जिल्लामा बर्सेनि पहिराेका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्याङ्कले छ । पन्ध्र वर्षयताको बाढीपहिराेको तथ्याङ्क हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । 


पन्ध्र वर्षको अवधिमा पहिराेबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा  विसं २०६४ मा गएको पहिराेमा परी २९ जनाले ज्यान गुमाएका थिए । पहिराेमा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा विसं २०७७ मा गएको पहिराेले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिराेमा परी २३ जनाको मृत्यु भएको थियो । पन्ध्र जना बेपत्ता छन् । 

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिराेमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराेको प्रकोप एक नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ । 

विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिराेमा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीन जनाको मृत्यु भएको थियो । मनसुन आपत्कालीन योजनामा समावेश तथ्याङ्कअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिराेमा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीन जनाको मृत्यु भएको उल्लेख छ । 

जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराेले पुरिएर एक जनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिराेले एक जना सोही दिन तमानखोला–२ मा आएको पहिराेमा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एक जना र निसीखोला–५ का दुई जनाको मृत्यु भएको थियो । 

ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढीपहिराेले एकको मृत्यु भएको थियो । विसं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिराेमा परी जैमिनी–२ मा दुई र वडा नं ५ मा एक जनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिराेमा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ–कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराेबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो ।  

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरीका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । ४१ जना कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको थियो । पहिराेले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थात थलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ । रासस


Author

थप समाचार
x