वातावरण

जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

इकागज |
बैशाख ११, २०८० सोमबार १८:१८ बजे

फाइल फोटो

नवलपरासी - लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरू सुक्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ ।

पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा ताल खडेरीका कारणले सुक्खा भएपछि वन्यजन्तुका लागि पिउने पानी र आहालको व्यवस्था गर्न सामुदायिक वनले आफ्नै खर्चमा तालमा जेनेरेटरको सहायताले पानी भर्न सुरु गरेको हो ।


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा तालमा पानी हुँदा एकै समयमा दर्जन बढी एकसिङ्गे गैँडाहरु आहाल खेल्दै गरेको अवस्थामा भेटिने गरेका थिए । लामो समयदेखि परेको खडेरीका कारण ताल सुक्दा जङ्गल सफारीका क्रममा गैँडा हेर्न आउने पर्यटक त्यसै फर्किनु परेको उल्लेख गर्दै गत पाँच दिनदेखि सामुदायिक वनले तालमा पानी भर्न सुरु गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए । 

“पानी नभएर ताल सुक्खा भएपछि गैँडालगायत जनावर देखिन छोडेपछि पर्यटकहरू त्यसै फर्किन परेकाले वनभित्र रहेको करिब एक किलोमिटर लामो तालमा विगत पाँच दिनदेखि वन्यजन्तुका लागि पानी भर्न सुरु गरेका छौँ”, अध्यक्ष गुरुङले भने । नमुना मध्यवर्ती सामुदायिक वनको यो क्षेत्रमा पूर्वी नवलपरासीको अमलटारीबाट मध्यवर्ती क्षेत्रका वनमा जङ्गल सफारीका लागि आउने पर्यटकका लागि रोजाइको क्षेत्र भए पनि पछिल्लो समय खडेरीका कारणले ताल सुक्खा हुँदा उनीहरू गैँडा नदेखी फर्किने गरेका थियो ।

तालमा पानी भर्न सुरु गरेपछि गैँडा लगायतका जनावरहरू पानी पिउन तथा आहालका लागि आउन सुरु गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले पानी परेर मूल नफुट्दासम्म दैनिक पानी भर्ने बताउँछन् । सामुदायिक वनमा गत वर्ष गाडेको बोरिङमा जेनेरेटर जोडेर पानी निकालेर ताल भर्ने काममा सामुदायिक वनका पदाधिकारी र स्थानीय पालो गरेर लागेका स्थानीयवासी जितेन्द्र सापकोटाले बताए । निकुञ्जसँग ताल भर्नका लागि सहयोग मागेर नपाएपछि वनले आफ्नै खर्चमा पानी भर्ने काम सुरु गरेको सापकोटा बताउँछन् । 

पछिल्लो समय गत असोजयता पूर्वी नवलपरासी पानी परेको छैन । लामो समयसम्म पानी नपर्दा सामुदायिक वन क्षेत्रभित्र भएका तालतलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गएपछि वन्यजन्तु समस्यामा परेका छन् । जङ्गलभित्र पानी पिउन नपाएपछि वन्यजन्तु बस्तीमा पस्ने गरेपछि स्थानीयवासी त्रसित भएका छन् । रासस


Author

थप समाचार
x