जात्रा-पर्व

यमपञ्चककाे दोस्राे दिन हनुमान जयन्ती मनाइयो

सुभाष कर्ण |
कात्तिक २५, २०८० शनिबार १८:५४ बजे

जनकपुरधाम- हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व सुरु भएको छ । यमपञ्चकको दोस्राे दिन आज हनुमान जयन्ती पर्व मनाइएको हाे । जनकपुरधामस्थित विभिन्न मठ-मन्दिर र संघसंस्थाहरूले भगवान हनुमानकाे पूजा तथा आराधना गरी हनुमान जयन्ती मनाएका हुन् ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगल जोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तन लगायतका कार्यक्रमको आयोजना गरेको छ । यसअघि परिषदले हनुमान रेल्वे स्टेशनबाट हजारौंको सहभागितामा निकालेको शोभा यात्राले नगर परिक्रमा समेत गरेको थियो । सो शोभा यात्रामा हिन्दु सम्राट सेना लगायतका संघसंस्थाहरूको सहभागिता रहेको थियो ।


परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धर्मावलम्बीहरू पर्व यमपञ्चकका बीच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरू भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।

भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनि ग्रहको दोष नलाग्नेदेखि भूतप्रेत, पिशाचको दुःख नहुने जनविश्वास रहेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पतिपत्नीबीचको कलह हट्ने विश्वास रहँदै आएको छ । त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरूको संख्या पनि धेरै रहेको छ । 

चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रूपमा व्याख्या गरिए पनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई हनुमान जयन्तीकै रूपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव ।

भगवान हनुमानको धर्मग्रन्थहरूमा शक्ति चर्चा

विभिन्न समयमा परिस्थितिको माग अनुरूप भगवानका अनेक रूपहरूको जन्म पृथ्वीमा भए सँगै धेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगवान शंकर हनुमान अवतार लिए । माता अञ्जनिको कठोर तपस्याबाट प्रसन्न भई वर माग्न भन्दा भगवान शंकरलाई नै आफ्नो पुत्रको रूपमा पाउने इच्छा जाहेर गरेपछि हनुमान रूपमा अवतरित भएका थिए ।

फरक फरक बार पूजा विधि र सामग्रीले फरक फरक मनोवाञ्छित फल प्राप्त गर्न सकिने जनविश्वास रही आएको छ । हनुमानलाई श्रद्धालु भक्तजन सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, झण्डा अर्पण गर्दा निकै प्रसन्न हुन्छन् । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागि तथा शनिदेवको कृपा प्राप्त गर्नका लागि पनि हनुमानको आराधना गर्नु निकै फलदायी हुने पण्डित दिगम्बर झा दिनमणिले बताए ।

अष्ट चिरञ्जीवी मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्ने गरिन्छ । भगवान हनुमानलाई ११औँ रुद्रावतारको रूपमा लिइन्छ ।

रामायणमा भगवान हनुमानको बल बुद्धिको विशेष रूपमा चर्चा गरिएको पाइन्छ । सीताहरण पश्चात समुद्र लंघन गरेर उनले नै सीता समक्ष भगवान रामको सन्देश पुर्याएका थिए । त्यस्तै सुनैसुनले बनेको रावणको लंका भगवान हनुमानले नै जलाएको वाल्मिकी रामायणमा उल्लेख छ ।

हनुमान पूजाको महत्व

वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धि दाता, शत्रु विजयका लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधि, शत्रु बाधा, भयबाट, प्राकृतिक शक्तिको बाधा, पिशाची शक्ति, राक्षसी शक्तिलगायतका नकारात्मक प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूको रहेको छ । हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन् ।

विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ । हनुमानलाई भक्तियोगका लागि महत्त्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्यता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए । साथै हनुमानलाई परब्रम्हा र रौद्र रूपमा पनि स्मरण गरिन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x