जात्रा-पर्व

छठ पर्व

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे

इकागज |
मंसिर ३, २०८० आइतबार १७:३३ बजे

काठमाडौँ- छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । तराई मिथिलाका क्षेत्रका साथै काठमाडौँमा पनि अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो ।

छठ पर्वका लागि काठमाडौँको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती नदी किनारमा भक्तजनको भीड लागेको थियो । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात सात्त्विक भोजन गरेर बस्छन् ।


ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । 


Author

थप समाचार
x