अर्थ / बाणिज्य

दाङका १० वटै स्थानीय तहकाे बजेट सार्वजनिक

इकागज |
असार १०, २०८० आइतबार १८:२१ बजे

काठमाडाैँ– दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । घोराही र तुलसीपुर दुई उपमहानगरपालिकासहित सबै स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गत वर्षको भन्दा ७ करोड कम हो । गत वर्ष ३० करोड १२ लाख आन्तरिक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ ।


तुलसीपुरले कृषि, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि र वित्तीय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । उप–प्रमुख हुमाकुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । कूल बजेट मध्ये चालू तर्फ १ अर्ब २ करोड ३ लाख रुपैयाँ अर्थात् ५९ दशमलव  ४० प्रतिशत र पुँजीगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात् ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड १४ लाख, संघीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २ करोड ३ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ७ लाख, प्रदेश समपूरक अनुदानबाट ३२ करोड बेहोरिने छ ।

चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाइ वातावरण र विपद् व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

दाङका दुई उपमहानगरसँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकाले पनि आइतबार नै बजेट सार्वजनिक गरेका छन् ।


Author

थप समाचार
x