अर्थ / बाणिज्य

१४ किलो सुन प्रकरण :

चन्द्रले डामेका मीनबहादुर को हुन् ? फोहोरमा सुन फाल्न सकेको भए चन्द्रले पाउँथे एक लाख ज्याला

अतिन आचार्य |
मंसिर २२, २०८० शुक्रबार १३:५६ बजे

एयरपोर्टमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले ।

काठमाडौँ- गएराति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को विमानबाट गोरखा बारपाकका चन्द्र घले ओर्लिए । अरू सामान्य यात्रुजस्तै उनी पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेटको चेकिङमा पुगे ।

भन्सारको डिक्टेर गेटमा जब चन्द्र पुगे । डिक्टेर गेटमा जब प्रवेश आवाज दिन थालिहाल्यो । उनलाई भन्सारका कर्मचारीले बोलाएर पुनः गेटमा प्रवेश गराए । भन्सारका कर्मचारीले शरीरका वस्त्र फुकाल्न लगाए । तब देख्यो उनले छातीको दायाँबायाँ सुनका बिस्कुट थिए ।


चन्द्रले शरीरमा मात्र लुकाएर सुन ल्याएका थिएनन् । जुत्तामा पनि हालेर ल्याएका थिए । शरीर र जुत्तामा गरी उनले १४ किलो सुन ल्याएका थिए । भन्सारका कर्मचारी र नेपाल प्रहरीले सोधपुछ गर्न थालेपछि दुबईदेखि नेपालसम्मको घटना विवरण खुलाउँदै गए ।

चन्द्रले सुन अन्ततः नेपालमा धुम्बाराहीमा रहेका मीनबहादुर घलेलाई ल्याएको बताए । लगत्तै प्रहरी र भन्सारका कर्मचारी उनको खोजीमा लागे । उनलाई पनि राति नै धुम्बाराहीबाट प्रहरीले नियन्त्रणमा लियो ।

चन्द्रले नाम लिएका १४ किलोको सुन रिसिभ गर्न खोज्ने मीनबहादुर आखिर को हुन् ?  कसरी दुबईसम्म सम्बन्ध विस्तार गरे ।

मीनबहादुर पनि गोरखा बारपाककै हुन् । कुनै समय म्यानपावर व्यवसायी थिए । खाडीलगायत विभिन्न मुलुकमा नेपाली कामदार पठाउने गर्थे । म्यानपावर व्यवसायी भएपछि दुबई ओहोरदोहोर स्वभाविक भयो । मीनबहादुरको पनि दुबई आउने जाने क्रम चलिरहन्थ्यो । उनको सबैभन्दा बढी विदेशको गन्तव्यमा दुबई पर्थ्यो ।

५३ वर्षीय मीनबहादुरले दुबईमा विभिन्न मुलुकका साथी बनाए । उनले भाषा पनि बुझिने र काम गर्न सहज हुने भएकाले छिमेकी मुलुक भारतीय साथीसँग नजिक भए । सजिलै आम्दानी गर्न सकिने बाटोको खोजिमा थिए उनी । भारतीय सुन व्यापारीसँग भेटिनु उनको लागि अवसर बनेर आयो ।

अलिअलि पैसा कमाउने प्रलोभनमा उनले सुन कारोबारीसँग अझ प्रगाढ सम्बन्ध  विस्तार गरे । उनले मुम्बईका एक जना व्यापारीसँग सम्बन्ध गाँसेर नेपालमा सुन एजेन्टको काम गर्न थाले ।

कोभिड-१९ महामारीपछि वैदेशिक रोजगारीमा जानेको कमी आयो । उनले पनि  म्यानपावर व्यवसाय छाडे । उनले सुन कारोबार गर्ने भारतीयसँग सम्बन्ध बढाएर नेपाल सुन ल्याउने जिम्मा लिन थाले । मीनबहादुरले दुबईबाट आएको सुन नेपालबाट लिएर अन्तै पठाउने काममा लागे ।

मीनबहादुरले अहिलेसम्म आठ पटकसम्म सुन रिसिभ गरिसकेको उनलाई नियन्त्रणमा लिन गएका प्रहरीका एक उच्च अधिकारीले इकागजलाई बताए । सुन पठाउने दिन दुबईबाट भारतीय व्यापारीले उनलाई खबर गर्ने गर्छन् ।

मीनबहादुरको भनाइ उद्दृत गर्दै प्रहरी अधिकारी भन्छन्,’  नेपालका सुन व्यवसायी तथा कुनै पनि नेपाली नागरिकको लागि सुन ल्याएको होइन् । सबै भारतीय व्यापारीको लागि काम गरेको हुँ । कसैको नाम पनि पुरै खुलाएनन् ।‘ प्रहरी नियन्त्रणमा लिँदा मदिराले उनी लठ्ठ थिए ।

दुबईबाट ल्याएको सुन नेपालबाट कसले लैजान्छ त्यो मीनबहादुरलाई समेत थाहा हुँदैन । प्रारम्भिक अनुसन्धानमा विमानस्थलमा सुन ल्याइदिने काम दुई जनाको मात्र देखिएको छ । दुबईबाट एक जनाले ल्याइदिने र नेपालमा अर्कोले रिसिभ गर्ने गरेको ती प्रहरी अधिकारीले बताए ।

चन्द्रले पनि मीनबहादुरलाई अहिलेसम्म देखेका थिएनन् । उनले एक लाख रुपैयाँ पाउने लोभमा सुन बोकेर आए । उनले दुबईमा पहिलो पटक मीनबहादुरको नाम सुनेका थिए । यसअघि उनले कहिले पनि मीनबहादुरलाई नदेखेको दाबी गरेका छन् ।  

‘त्रिभुवन विमानस्थलको गेट कटाउने काम मात्र चन्द्रको रहेको थियो,’ ति प्रहरी अधिकारीले इकागजसँग भने 'चन्द्रले बाहिर आएर सुन फोहोरमा फालिदिने र त्यो सुन फोहोर उठाउने कर्मचारीसँग मीनबहादुरसँग सम्पर्क गर्थे ।'

फोहोर उठाउनेको सम्पर्क नम्बर माग्दा पनि मीनबहादुरले थाहा नभएको जवाफ दिए । फोहोर उठाउनेसँग सुन लिएपछि पुनः एयरपोर्टबाट अर्कै मान्छेले लैजाने गरेको मीनबहादुरको भनाइ उद्दृत गर्दै ती प्रहरीले इकागजलाई सुनाए ।

विमानस्थलबाट समातिएका सुन कारोबारमा ठूलै आपराधिक संगठन लागेको जस्तो देखिने त्रिभुवन विमानस्थलका सुरक्षा कार्यालयका प्रहरी प्रमुख अर्जुनचन्द ठकुरी बताउँछन् ।

‘एकले अर्कालाई देखेका हुँदैनन् । दुबईबाट ल्याइएको सुन कसले कहाँसम्म लैजान्छन् त्यो सम्म भन्दैनन् । दुबईबाट आउने नेपालीहरू सुनको भरिया मात्र बन्ने गरेका छन्,’ उनले भने,’ सिधा कामदार यसमा पैसाको लोभमा परेर भरिया बनिरहेका छन् । हामीले निश्‍चित समयसम्मका लागि भन्सार सुरक्षाका लागि मात्र काम गर्छौ । भन्सारमा हाम्रो सिधा प्रवेश पनि हुँदैन ।‘

पटक-पटक त्रिभुवन विमानस्थलमा दुबईबाट आएका नेपाली सुनसहित नागरिक प्रकाउ पर्छन् । दुबईको विमानस्थलबाट सहजै भित्रिने तर नेपालमा कसरी पक्राउ पर्छन भन्ने प्रश्‍नमा उनी ठकुरी भन्छन्,’ दुबईबाट सुन किनेर ल्याउने भएकाले सहजै ल्याउन पाउँछन् । राज्यको नीति नै सुन बिक्री गर्ने भएकाले भन्सारले रोक्दैनन् । भन्सार दस्तुर तिरिसकेपछि सहजै छिर्न पाउँछन् ।‘

सुन र विदेशी मुद्रा सबैको निरीक्षण तथा अनुगमन राजश्‍व अनुसन्धान विभागले गर्ने गरेको उनले बताए । प्रहरीको सक्रियतामा छ सात महिनामा १६ करोड रुपैयाँ बराबरको राजश्‍व संकलन गरिसकेको उनले जानकारी दिए ।

विमानस्थलमा प्रहरीले प्रस्थानतर्फ मात्र चेक गर्न पाउने ठकुरीले बताए । भन्सार आगमन कक्ष तथा भन्सारको चेकजाँचमा प्रहरीले प्रवेश पनि नपाउने उनको भनाइ छ । भन्सार ऐनमा भन्सारले अनुसन्धान तथा अनुगमन गर्ने उल्लेख छ ।

र, यो पनि


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x