अर्थ / बाणिज्य

बृन्दावन नगरका मेयर कुर्मीको सम्पत्ति कामना सेवा विकास बैंकले लिलामीमा चढायो

इकागज |
फागुन १८, २०८० शुक्रबार १३:२९ बजे

काठमाडौँ- बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले कामना सेवा विकास बैंकको ऋण नतिरेपछि लिलामीको सूचना निकालेको छ । रौतहट बृन्दावन नगरपालिकाका मेयर कुर्मीले बैंकको कर्जा नतिरेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।  

उनलाई यसअघि बैंकले मंसिर १९ गते कालो सूचीमा समेत राखेको थियो । कुर्मीले ३ वर्षअघि बैंकबाट करिब १ करोड रुपैयाँ ऋण व्यक्तिगत इक्विटी कर्जा, सरल अधिविकर्ष कर्जा तथा सवारी कर्जाका लागि लिएका थिए ।


३ वर्षअघि ऋण लिएका कुर्मीले दुई वर्षसम्म किस्ता तिरेको भए पनि पछिल्लो समय ऋणको किस्ता तिर्न छोडेका थिए । उनलाई बैंकले पटक-पटक ताकेता गर्दा पनि किस्ता नतिरेपछि बैंकले कालो सूचीमा राख्नुका साथै अहिले धितो लिलामीको सूचना निकालेको छ ।

बैँकबाट लिएको ऋणकर्जा बैँकसँग भए गरेको सम्झौता बमोजिम बुझाउन पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत कर्जा चुक्ता गर्न कुर्मीले मानेका थिएनन् । बैंकले कर्जा चुक्ता भुक्तान गर्न आउनु भनी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

कर्जाको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दे-दस्तुर समेत चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी बसेकोले उक्त ऋणकर्जाको सुरक्षण बापत धितोबन्धक बैंकको नियम तथा प्रचलित ऐन कानूनको अधीनमा रही गोप्य सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरी १५ दिनभित्र लिलामी गर्ने जनाएको छ ।

 त्यसका लागि सम्पत्तिहरु गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र बोलपत्र पेश गर्न भनेको छ ।

बैंकले कुर्मीको नाममा रहेको मालपोत कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दर्ता कायम रहेको ५ स्थानको घर जग्गा लिलामी गर्ने भएको छ । कुर्मीले प्रयोग गरेको टाटा कम्पनीको गाडी पनि लिलामी गर्ने भएको छ ।

यो पनि

गाडी, व्यक्तिगत र बीमा कर्जा नतिर्दा वृन्दावन नगरपालिकाका मेयर कुर्मी कालो सूचीमा


Author

थप समाचार
x