अर्थ / बाणिज्य

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

इकागज |
चैत १६, २०८० शुक्रबार १५:११ बजे

ललितपुर- 'मेड इन नेपाल नारा' सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ ।

ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ देखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।


ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामानहरू इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

ललितपुर चेम्बर अफ कमर्सले इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रा.लि सँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्य केन्द्रविन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड इन ललितपुरको पेभिलिन रहने छ जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य सामानहरू र दैनिक उपभोग्य सामानहरूका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरूबाट उत्पादन हुने विभिन्न सामानहरूको प्रदर्शनी रहने अध्यक्ष शाक्यले बताए ।

साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरूले पनि आफ्नो उत्पादनलाई प्रदर्शनी गराउने र आकर्षणको रुपमा अमूर्त सम्पदा र कला संस्कृतिको प्रदर्शनी, फेसन शो र बालबालिकाहरूको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरूका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता रहने छ ।

एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रीतिरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने छ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरू फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने छ । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीहरूलाई सामीप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ ।

मेलाको आकर्षणको रूपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढी स्टलहरू रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।

मेलाको आकर्षणको रूपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृतिहरू, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रदर्शन गरिने छ ।

प्रथम पटक हुन गइरहेको यस एक्स्पोले अहिलेको नेपालको परिस्थितिमा आर्थिक चलायमान गर्न र नेपालमा उत्पादन भएका सामानहरू अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र विभिन्न देशको उत्कृष्ट व्यवसायीहरूसँग सामीप्यबाट समग्र ललितपुरको आर्थिक स्थिति सुदृढ हुने विश्वास गर्न सकिन्छ ।


Author

थप समाचार
x