अर्थ / बाणिज्य

रियलमीको नयाँ 'फ्लागशिप किलर जिटी नियो २' सार्वजनिक

इकागज |
कात्तिक २४, २०७८ बुधबार १८:४८ बजे

काठमाडौँ- चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा ‘जीटी’ सिरिज अन्तर्गत ‘रियलमी जीटी नियो २’ सार्वजनिक गरेको छ । यो फ्लागशिप फोनमा प्रविधिप्रेमीका लागि नवीन प्रविधि र आकर्षक डिजाइनसहितका विशेषता रहेको कम्पनीले जनाएको छ ।

यो फोनमा क्वालकम स्नापड्रागन ८ सय ७० मोबाइल प्लेटफर्म र परिष्कृत कुलिङ्ग सिस्टम दिइएको छ । फोनमा १ सय २० हर्ज रिफ्रेस रेटसहितको ६.६२ इन्चको फुल एचडी प्लस ई४ एमोलेड डिस्प्ले छ ।


हाललाई ८ जीबी र्‍याम र १ सय २८ जीबी स्टोरेजमा मात्र उपलब्ध यो फोन १२ जीबी र्‍याम तथा २ सय ५६ जीबी स्टोरेज भेरियन्टमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले फोनमा ६५ वाट फास्ट चार्जिङसहित ५  हजार एमएएचको ब्याट्री दिएको छ ।

साथै फोनमा ६४ मेगापिक्सेलको मुख्य लेन्स छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र २ मेगापिक्सेलको म्याक्रो सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको लेन्स दिइएको छ । नेपाली बजारमा यो फोनको मूल्य ५४ हजार १ सय ९९ रुपैयाँ तोकिएको छ । तर सुरुमा खरिद गर्ने ग्राहकले भने ५१ हजार १ सय ९९ रुपैयाँमा यो फोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

फोनको अग्रिम बुकिङ बिहिबारदेखि अनलाइन माध्यममा सुरु हुनेछ भने अनलाइन स्टोर दराजको ११.११ सेलको अवसरमा दराज एपबाट थप छुटसहित यो फोन बुकिङ गर्न सकिनेछ । कम्पनीका अनुसार कात्तिक २८ गतेदेखि भने भौचर तथा बैंकिङ छुटमा वितरण सुरु हुनेछ तथा अफलाइन ग्राहकले कात्तिक २७ गतेदेखि अग्रिम बुकिङ गर्न सक्नेछन् । कम्पनीका अनुसार यो फोन चिनियाँ बजारमा १० लाखभन्दा धेरै बिक्री भइसकेको छ । रियलमी नियो जिटी २ नियो ब्ल्याक र नियो ग्रिन गरी दुई रंगमा उपलब्ध छ ।


Author

थप समाचार
x