अर्थ / बाणिज्य

हिमालयन बैंक र बीओकेले रिट्रायलमा मुद्दा जिते, आजै बैंक ग्यारेन्टीको पैसा फिर्ता माग्‍ने

पुष्पराज आचार्य |
कात्तिक २१, २०७७ शुक्रबार १२:१८ बजे

काठमाडौं : झण्डै आठ वर्ष अघिको बैंक ग्यारेन्टीसम्बन्धि चिनियाँ कम्पनी-चाइना रेल्वे ब्यूरो फिफ्टीनसँगको मुद्दाको पुनः सुनुवाइमा हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मुद्दा जितेका छन् । चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले दुई नेपाली बैंकको पक्षमा दिएको फैसला आज प्राप्त भएको बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्तले बताए । दुवै बैंकले आज चाइना कन्स्ट्रक्सन बैंक (सीसीबी) सँग अदालतको फैसलाका आधारमा बैंक ग्यारेन्टीको पैसा फिर्ता गर्न माग गर्दै प्रस्ताव पठाउने भएका छन् ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार चाइना रेल्वेको चाइना कन्स्ट्रक्सन बैंकको  बैंक ग्यारेन्टीलाई काउन्टर ग्यारेन्टी दिएका थिए । नेपालमा विदेशी बैंकको बैंक ग्यारेन्टी (जमानत) नचल्ने भएकाले नेपाली बैंकहरु चिनियाँ कन्स्ट्रक्सन बैंकको जमानतको आधारमा काउन्टर ग्यारेन्टी बसिदिएका थिए । मेलम्चीको ठेक्का एकपक्षीय रुपमा तोडेको उक्त ठेकेदारले बैंक ग्यारेन्टी रोक्का गर्न माग गर्दै उक्त अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले चार वर्ष अघि चाइना रेल्वेको पक्षमा फैसला गरेपछि बीओके र हिमालयन बैंकले त्यहीँको उच्च अदालतमा पुनरावेदन गरेका थिए ।


चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकले ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी दिएका थिए ।

नेपाली बैंकहरुको पुनरावेदन सुन्दै त्यहाँको उच्च अदालतले झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टमा रिट्रायल अर्थात् पुनः सुनुवाइका लागि फिर्ता पठाएको थियो । रिट्रायलमा नेपाली बैंकहरुले मुद्दा जिते पनि उक्त ठेकेदार चाइना रेल्वेले उच्च अदालतमा पुनरावेदन गर्ने सम्भावना भने टरेको छैन ।

फैसला आफ्नो पक्षमा आइसकेकोले नेपाली बैंकहरुले भने ढिला नगरी आफ्नो जमानीबापत्को रकम माग्न लागेका हुन् । नेपाली बैंकहरुले काउन्टर ग्यारेन्टी दिएको रकम चाइना रेल्वेले ठेक्का तोडेपछि मेलम्ची खानेपानी आयोजना विकास समितिले जफत गरिसकेको छ ।

चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकले ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी दिएका थिए । चाइना रेल्वेले ठेक्का तोडेर भागेपछि मेलम्चीले हिमालयन र बीओकेसँग  बैंक जमानतबापत्को रकम मागेको थियो । सुरुमा दुवै बैंकले ठेकेदारले चीनमा मुद्दा दायर गरेकाले चाइना कन्स्ट्रक्सन बैंकसँग जमानीको पैसा लिन नसकेको भन्दै आलटाल गरेका थिए । तर नेपाल राष्ट्र बैंकले २०७० कार्तिक २५ मा चाइना रेल्वेको जमानीबापत्को पैसा मेलम्ची विकास समितिलाई बुझाउन निर्देशन दिएपछि उनीहरु बाध्य भएर मेलम्चीलाई उक्त जमानी बापत्को रकम भुक्तान गरेका थिए ।

उक्त घटनापछि वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले चिनियाँ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र उनीहरुसँग कुनै कारोबार नगर्ने घोषणा समेत गरेको थियो । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x