अर्थ / बाणिज्य

लैंगिक समानता र समावेशीतालाई हलुका ढंगले नलिऔं

इकागज |
बैशाख ८, २०७९ बिहीबार २३:३ बजे

काठमाडौँ -  एसियाली विकास बैंक (एडीबी) र सर्वांगिण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले संयुक्त रूपमा केही क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीता (जेसी) सम्बन्धी निदानात्मक अध्ययन सार्वजनिक गरेका छन् । 

सहरी विकास मन्त्री रामकुमारी झाँक्री, एडीबीका दक्षिण एसिया महानिर्देशक केनिची योकोयामा, राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह बुधबार आयोजित उक्त कार्यक्रमका प्रमुख वक्ता रहेका थिए । 
कार्यक्रममा मन्त्री झाँक्रीले अध्ययनको विस्तृत विषयवस्तु र क्षेत्र केन्द्रित प्रयासको प्रशंशा गर्दै महिला तथा अवसरबाट वञ्चित समुदायका लागि रूपान्तरणकारी पहल गर्न आग्रह गरिन् । 


दक्षिण एसिया क्षेत्रीय महानिर्देशक योकोयामाले अध्ययनमा प्रतिविम्वित भएजस्तै लैंगिक समानता र सामाजिक समावेशीताका लागि एडीबीले गर्दै आएका प्रयासको संक्षिप्त सिंहावलोकन प्रस्तुत गरेका थिए । उनले नेपाल सरकारसँग लैंगिक समानता तथा सशक्तीकरण परियोजना कार्यान्वयनमा महत्वपूर्ण साझेदारी भएको उल्लेख गरेका थिए । 

एडीबीका प्रमुख सामाजिक विकास (लैंगिक र विकास) विशेषज्ञ फ्रान्सेस्को टोर्नेरीले अध्ययनले पुनरावृत्तिमूलक तथा बृहद् परामर्शको प्रक्रिया अवलम्बन गरेको भन्दै यसमा महिला, वञ्चितिकरणमा परेका तथा जोखिममा रहेका समुदाय र पैरवी तथा पहिचानमा आधारित संस्थाहरूले उठाएका चासो तथा सवालहरूलाई समावेश गरिएको बताए । छाया झाले उक्त अध्ययनमा आधारित प्रस्तुतीकरण दिएकी थिइन् । 

एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले समापनका क्रममा अध्ययनका निष्कर्ष र सुझावहरू आफ्नो मन्तव्यमा समेटेका थिए । उनले यसका सुझाव र निष्कर्षका कतिपय विषयवस्तु नेपालका लागि राष्ट्रिय साझेदारी रणनीति (सन् २०२०–२४) मा समावेक भएको बताए । उनले एडीबी सहयोगका परियोजनाको डिजाइनका क्रममा यसमा समावेश निष्कर्ष र सुझावहरू प्रतिविम्वित हुने भन्दै महामारीले लैंगिक समानता तथा समावेशीतालाई हलुका रूपमा लिनु नहुने बताए । उनले दिगो, लैंगिक र सामाजिक हिसाबले समावेशी, जलवायु परिवर्तन उत्थानशील विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । 
 


Author

थप समाचार
x