फुटबल

साफ च्याम्पियनसीपः भारतलाई समूह चरणमै पराजित गर्ने नेपाललाई सुनौलो अवसर

इकागज |
जेठ ६, २०८० शनिबार १५:२८ बजे

काठमाडौँ- भारतमा जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने साफ च्याम्पियनसीप फुटबलको दोस्रो खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । समूह ‘ए’ मा रहेका भारत र नेपालबीचको खेल जुन २४ मा बेंग्लुरुमा साँझ ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

समूह चरणमा आयोजकविरुद्ध भिड्दा नेपालले भने अघिल्लो संस्करणको फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ । सन् २०२१ को अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा भएको च्याम्पियनसीपको फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गर्दै उपाधि जितेको थियो ।


साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपालले लिग चरणमा पनि भारतविरुद्ध १-० को पराजय भोगेको थियो ।

सन् २०२१ पछि नेपाल र भारतबीच कुनै पनि खेल भएको छैन । यी दुई टोलीबीच दुई वर्षपछि खेल हुँदैछ, त्यो पनि समूह चरणमै । यसपटक भने नेपालले माल्दिभ्समा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ ।

तर भारतविरुद्ध भने नेपाललाई जित हात पार्न त्यति सजिलो भने हुनेछैन । इतिहास हेर्दा नेपालले भारतलाई केवल दुई खेलमा मात्र पराजित गर्न सकेको छ ।

नेपाल र भारतबीच हालसम्म २३ पटक खेल भएकोमा भारत १६ खेलमा विजयी भएको छ । नेपाल र भारतले पाँच खेलमा बराबरी खेलेका छन् ।

नेपालले पछिल्लो पटक भारतलाई पराजित गरेको भनेको सन् २०१३ को साफ च्याम्पियनसीप हो । नेपालमै भएको च्याम्पियनसीपको समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले उक्त खेलमा जित हात पारेको थियो । त्यसअघि नेपालले सन् १९९३ मा बंगलादेशमा भएको डाक्का बंगलादेश फुटबल प्रतियोगितामा नेपालले भारतलाई पेनाल्टीमा पराजित गरेको थियो ।

तर पछिल्ला १० खेलमा भने नेपालले एक खेलमा जित हात पार्दा भारतले भने ७ खेलमा जित हात पारेको छ । दुई खेल भने बराबरीमा टुंगिएको छ ।

भारतले नेपालविरुद्ध सर्वाधिक ठूलो जित भनेको सन् २००८ को साफ च्याम्पियनसीपमा हात पारेको थियो । माल्दिभ्स र श्रीलंकामा भएको च्याम्पियनसीपको समूह चरणमा भारतले नेपाललाई ४-० ले पाखा लगाएको थियो । उक्त खेलमा भाइचुङ भुटिया र सुनिल क्षेत्रीले एक-एक गोल गरेका थिए ।


Author

थप समाचार
x