फुटबल

डिबालाको गोलले युभेन्टसलाई राहत

इकागज |
मंसिर १५, २०७८ बुधबार १२:२९ बजे

काठमाडौँ- जारी इटालियन सिरी ‘ए’ मा युभेन्टस सातौँ स्थानमा छ । २०११–१२ सिजनदेखि लगातार च्याम्पियन बनेको युभेन्टस गत सिजन भने चौथो स्थानमा सीमित भएको थियो । यसपालि पनि युभेन्टसको लय सन्तोषजनक छैन । १५ खेल खेल्दा पाँच खेलमा पराजय भोगेको युभेन्टस गत साता चेल्सी र एटलान्टासँग हारेको थियो ।  

यस्तै मिश्रित नजिताका कारण यही सिजन टुरिन फर्किएका मासिमिलियानो एलेग्री दबाबमा रहेका छन् । मंगलबार राति भने उनले राहत महशुस गरेको हुनुपर्छ । किभने सिरी ए मा युभेन्टसले सालेरनिटानालाई २–० ले पराजित गर्‍यो । युभेन्टसका लागि पाब्लो डिबाला र अल्भारो मोराटाले एक–एक गोल गरे । यो जितसँगै युभेन्टसले एटलान्टासँगको दूरी सात अंकमा घटाएको छ । लिगको चौथो स्थानमा रहेको एटलान्टाको खातामा ३१ अंक छ । 


नेपोलीले लिगको शीर्ष स्थान ओगटिरहेको अवस्थामा एटलान्टा र युभेन्टसको लक्ष्य कमसेकम शीर्ष चारभित्र पर्ने हो । यस्तोमा एटलान्टाले चौथो स्थानमाथिको आफ्नो पकड कायम राखेको छ । मंगलबार राति नै भएको खेलमा एटलान्टाले भेनेजियामाथि ४–० को जित दर्ता गर्‍यो । एटलान्टाको जितमा मारियो पासालिचले ह्याट्रिक गरे । एटलान्टाको अर्को गोल टेउन कुपमिर्नेसले गरे । जियान पिएरो गास्पेरिनीको प्रशिक्षणमा खेलिरहेको एटलान्टा पछिल्ला आठ खेलमा अपराजित छ । 

सिरी ए कै अर्को खेलमा फियोरेन्टिनाले साम्पडोरियालाई ३–१ गोल अन्तरले पन्छायो । फियोरेन्टिनाका लागि जोसे मारिया कालेयोन, डुसान भ्लाहोभिच र रिकार्डो सोट्लिले गरे । भ्लाहोभिचका लागि यो १२ औँ लिग गोल थियो । उता पराजित टिम साम्पडोरियाका लागि मानोलो गाब्बिडियानीले सान्त्वना गोल गरेका थिए । जितपछि फियोरेन्टिना २४ अंकका साथ छैटो स्थानमा छ । 

 
  
 


Author

थप समाचार
x