सरकार

सञ्चार मन्त्री शर्मा भारत प्रस्थान

इकागज |
चैत ८, २०७९ बुधबार ६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मङ्गलबार भारत प्रस्थान गरेकी छन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियुको एशिया प्रशान्त क्षेत्रीय कार्यालयको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने बताइएको छ ।

कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुने सञ्चार मन्त्रालयले जनाएको छ  । मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन् । बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।
 
मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । नेपाली प्रतिनिधिमण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य सहभागी छन् । मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फर्कने उहाँका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए । 



Author

थप समाचार
x