सरकार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका

इकागज |
जेठ १३, २०८० शनिबार ११:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।  शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसपछि प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम गर्नेछन् ।


उक्त सम्मेलन सकिएपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ ।

भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन् । प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

त्यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौँ फर्कनेछन् ।


Author

थप समाचार
x