सरकार

दुबईमा आज के-के कार्यक्रममा सहभागी हुँदैछन् प्रधानमन्त्री प्रचण्ड ?

इकागज |
मंसिर १४, २०८० बिहीबार १०:८ बजे

दुबई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । 

स्थानीय समय अनुसार राति करिब १:३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत युएईस्थित दूतावासका अधिकारीहरूले उनको स्वागत गरे ।


प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले बताए । 

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।


Author

थप समाचार
x