सरकार

पोजेटिभ कुरा नदेख्ने र नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो नेपालमा : प्रधानमन्त्री प्रचण्ड

इकागज |
पुस २, २०८० सोमबार १२:४० बजे

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल प्रचण्ड दाहाल प्रचण्डले नेपालमा पोजेटिभ कुरा नदेख्ने र नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थालेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताएका छन् । उनले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवर्द्धक रहेको बताए ।


७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माणलगायतमा भएको काम सन्तोषजनक पाएको बताए । उनले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिनपनि जोड दिए ।

‘स्थानीय सरकार बनेपछि अथवा संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि जे जति विकास निर्माणका काम भएका छन् । ती पक्कै पनि मेरो विचारमा सन्तोषजनक छन् । उत्साहवर्द्धक छन् । स्थानीय तहले विकास निर्माण, संस्कृति, संरक्षण, सम्पदा विकासमा, भौतिक पूर्वाधारमा ती महत्वपूर्ण छन्' उनले भने '७५३ तहकै अवस्था हेर्दा उत्साहवर्द्धक छन् । यो स्थानीय सरकारको अवधारणा, संघीयता संघ मात्रै होइन । हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो नेपालमा । पोजेटिभ कुरा नदेख्ने बढी भयो । यस्तो भयो भने राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा गर्न सक्दैनौँ । प्रदेश र स्थानीय तहलाई बलियो बनाउन मैले छिटै नै संघीय निजामति ऐन ल्याउँदैछु ।’


Author

थप समाचार
x