स्वास्थ्य

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

इकागज |
भदौ ३०, २०८० शनिबार १५:४२ बजे

सांकेतिक तस्विर

काठमाडौँ - सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताएका हुन् । उनले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताए । उनले अटिजम भएकाहरूलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याए । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरूलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताए । अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताए । 


सचिव अधिकारीले भने, ‘अटिजम डिस्अर्डर सोसाईटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानूनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ । अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामिले अरु जस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्वन गरियो भने त्यसले उपलब्धी हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ । विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई हामीले उपयोग गर्नसक्छौँ । हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन । हाम्रो संविधानले गुणस्तरीय शिक्षा दिएको छ भनेर मात्रै पुग्दैन । प्राक्टिसमा ट्रान्सफर्म गर्न जरुरी छ । हामीले व्यवहारिक सुधार गर्न जरुरी छ । हाम्रो विद्यालय, कक्षाकोठा र सिकाईको वातावरणमा पनि ध्यान दिनुपर्छ । एजुकेशन पोलिसी इन्क्लुसिभ फ्रेण्ड्ली बनाउन त खोजिएको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा पनि हामीले विशेष किसिमको शिक्षा भनेर समावेश गरेका छौँ । विशेष किसीमको शिक्षालाई पहिलो पटक कानूनमा समावेश गर्न लागिएको छ । विशेष किसिमको शिक्षामा डिस्एबिलीटि भएकाहरुको शिक्षाको कुरा आउँछ । स्वभावैले अटिजमको कुरा आउँछ नै । कानुनमा त हुन्छ, व्यवहारमा कक्षा कोठामा हुन्छ की हुँदैन भन्ने पनि महत्वपूर्ण छ । हामीले त्यसको शुरुवात गर्नुपर्छ । सरकारले सपोर्ट गर्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसीमको व्यवहार आवश्यक हुन्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई माया, ममता, स्नेह आवश्यक पर्छ । उनीहरुको स्किल बुझेर त्यहि अनुसार व्यवहार गर्न जरुरी छ । अटिजम भएकाहरुलाई विशेष किसीमको व्यवहार गरिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । डिजेबलप्रति न्यायका लागि परीक्षा पद्धती सुधार गर्नुपर्ने देखिन्छ । हामी परीक्षा प्रणालीलाई फरक बनाउँछौ । पाठ्यक्रम सामग्री र शिक्षण विधि समेत फरक हुनुपर्छ । शिक्षकहरुलाई तालीम पनि फरक हुनसक्छ । उहाँहरुको हरेक क्रियकलापलाई सहयोग गर्न विशेष कार्यक्रम ल्याउँछौ । फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरु १६ औं योजनामा समेटिनेछ ।’

सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताए । अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो । 

 


Author

थप समाचार
x