घटना-दुर्घटना

सहकारीको सेवा केन्द्रमा लुटपाट, लुटेराकाे गोली लागि केन्द्रका प्रमुख घाइते

इकागज |
कात्तिक २, २०७९ बुधबार १४:३६ बजे

सर्लाही- सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ । 

बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी अन्दाजी ३० बर्षका साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहर गरी लुटपाट गरेको प्रहरीले जनाएको हो ।


बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए । प्रतिकार गरेपछि लुटेरा समुहले गोली प्रहार गरेको घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए । घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटकाे मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडाैं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए ।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेकाे घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए । ‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे ।’ घाईतेलाई उदृत गर्दै श्रेष्ठले भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रएरमा खन्याई सकेकोले उनीहरूले  ब्यागमात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ ।’

लुटेरा समुहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको समेत आशंका छ । मंगलवार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएकाे स्थानीयकाे भनाइ छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

हरिवनमा मुख्य कार्यालय रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुरलगायत स्थानमा सेवा कार्यालय सञ्चालन गरेर शेयर सदस्यहरूलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।


Author

थप समाचार
x