घटना-दुर्घटना

बाँकेमा चुराको गोदाममा आगलागी, एक जनाको मृत्यु

इकागज |
कात्तिक १३, २०७९ आइतबार १६:३१ बजे

खजुरा- बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित  रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए ।


प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । 

मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए । घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ ।

आगलागीबाट करिब रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x